+
+
Shares

मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १६:३३

१० चैत, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेट गरेका छन् । कुनै समय ओलीको विश्वास पात्र मानिने ढकालसँग केही वर्ष यतादेखि ओलीको दुरी बढ्दै गएको थियो ।

एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका उम्मेदवारलाई पराजित गराउन उनले सक्रिय भूमिका खेलका थिए । ढकाल समर्थकको प्यानललाई नै विजयी भएपछि ओलीले उनलाई बोलाएर भेटेका हुन् ।

गत २३ फागुनको चुनावी परिणाम घोषणापछि ओलीले ढकालसँग टेलिफोन संवाद गरेका थिए । जिल्ला समितिको पहिलो बैठकपछि काठमाडौं पुगेका ढकालले शुक्रबार बेलुका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।

ढकालले अध्यक्ष ओलीसँग भेट भएको बताए । ‘अस्ति बेलुका अध्यक्षज्यूसँग भेटघाट भयो,’ उनले भने,’ पार्टीका विषयमा कुराकानी भयो ।’

उनी निकट एक नेताका अनुसार ओलीलाई ढकालले आफूबारे गरिएको गलत ब्रिफिङका बारेमा जानकारी गराएका थिए । ‘कन्फ्युजन मेट्ने गरी उहाँहरूबीच छलफल भएको छ,’ ढकाल निकट एक नेताले भने ।

जिल्ला अधिवेशनमा अनपेक्षित नतिजा निकालेपछि ओलीले ढकाललाई स्पेस दिएको एमाले नेताहरू बताउँछन् ।

गत २३ फागुनमा एमाले जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका राजकुमार ओझालाई पराजित गर्दै विनोद ढकालले समर्थन गरेका अजम्बर राई निर्वाचित भए ।

एमाले मोरङको १०औं जिल्ला अधिवेशन नतिजाले ढकाललाई ओलीसँग पुग्ने आधार बनेको ढकाल निकट जिल्ला नेताहरू बताउँछन् ।

ढकालले यसअघि ६ असोज २०८० मा ओलीसँग भेट गरेका थिए । १२ असोज २०८० मा प्रदेश अधिवेशन सुरु हुनुअघि भएको उक्त भेटमा ओलीले उनलाई घनश्याम खतिवडालाई छाड्दिन भनेका थिए । तर ढकाल तयार भएनन् । अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका ढकाल पराजित भए । त्यसयता ढकाललाई ओलीले भेट दिएका थिएनन् । ओली पूर्व आउँदा ढकाल भने स्वागतका लागि पुग्ने गरेका थिए । प्रदेश अधिवेशन अघि र पछि ओली निवास बालकोटको ढोका ढकालका लागि बन्दजस्तै थियो ।

तत्कालीन एमालेमा माधवकुमार नेपालको टिम सशक्त हुँदा मोरङमा ढकाल ओलीको विश्वास पात्र थिए । पूर्वमा ओलीको गुट विस्तारमा पनि उनको भूमिका थियो । तर ओली शक्तिशाली भएपछि ढकाल किनारामा परेका थिए । शुक्रबारको भेटपछि भने ओली र ढकालको सम्बन्ध सुध्रिएको नेताहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?