
१० चैत, जनकपुरधाम। मधेश सरकारका मन्त्रालयहरूले योजना बेचेको आरोप लगाउँदै विपक्षी दलहरूले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल र विपक्षी दल नेकपा माओवादी केन्द्रले मन्त्रालयहरुले कमिसन लिएर योजना बेचेको बारे छानविन समिति गठनको माग गर्दै सनद अवरुद्ध गरेका हुन् ।
प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले उठेर मुख्यमन्त्री सिंहले कुटनीतिक मर्यादा विपरीत योगीसँग भेटेको र त्यहाँ गणतन्त्रविरोधी कुराहरू भएको आशंका व्यक्त गर्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
उनले मन्त्रालयहरूमा व्यापक भ्रष्टाचार भइरहेको, ससर्त अनुदान रकम नगरपालिकाहरूबाट कमिसन लिएर मात्र पठाइने, भौतिक पूर्वाधार मन्त्रालयमा संघीय कर्मचारीलाई मोटो कमिसन लिएर जिम्मेवारी दिने र प्रदेशका कर्मचारीलाई निरुत्साहित गर्नेजस्ता विषयप्रति प्रश्न उठाउँदै छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन अवरोध जारी रहने चेतावनी पनि दिए ।
प्रमुख प्रतिपक्षी दल जसपा नेपालका नेता सरोजकुमार यादवले बजेट निर्माणका क्रममा मुख्यमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड उपलब्ध गराउने भनेको तर त्यो रकम सांसदहरूले नपाएको भन्दै प्रश्न उठाए ।
उनले कार्यालयबाट वितरण हुने योजनाको चिठी मन्त्रीको सचिवालयबाट वितरण भइरहेकाले व्यापक भ्रष्टाचार भएको दाबी गर्दै संसदीय छानबिन समिति गठनको माग गरे ।
आफू मुख्यमन्त्री हुँदा ससर्त अनुदानमा अिनयमितताको कुरा सदनमा उठेपछि संसदीय छानबिन समिति गठन गरेको पनि उनले स्मरण गराए ।
उनले भने, ‘जति योजनाको पत्र कार्यालयबाट पठाउनु पर्नेमा मन्त्रीको सचिवालयमा आइसकेको छ । त्यो किन र कसरी आयो ? यसमा छानविन समिति गठन हुनुपर्ने हाम्रो माग छ । जबसम्म संसदीय छानविन समिति गठन हुँदैन, तबसम्म सदन हामी सदन अवरुद्ध गर्छौ।’
विपक्षी दलको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया 4