
१० चैत, कठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सडकमा प्रदर्शन गर्ने नागरिक व्यवस्था विरुद्ध नभई अवस्थाका लागि भएको बताएका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकमा नेता केसीले भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश भएको बताए । लिखित धारणा राखेका केसीले भने,‘ यो वर्तमान व्यवस्थाविरूद्ध भन्दा पनि अवस्था विरूद्धको आवाज हो ।’
केसीले कांग्रेस मध्यमार्गी दल भएकाले आफ्नो धार विर्सन नहुने प्रति नेतृत्वको ध्यानाकर्षण गराए । ‘अहिले नेपाली कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर का वामपन्थी धारको बीचमा छ । कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु हुँदैन,’ केसीले भने,‘पार्टी विधानको सर्वोच्चता, विधि र पद्धतिलाई हामीले अपनाउन सकेनौं भने निरंकुशताको विरोध गर्ने हक गुमाउन पुग्छौं ।
केसीको विचारः
१. जनतामा व्याप्त निराशा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको छ। यसबारे मैले पार्टीका मञ्च, संसद, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट समेत बारम्बार व्यक्त गर्दै आएको छु ।
२. सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश हो । यो वर्तमान व्यवस्थाविरूद्ध भन्दा पनि अवस्था विरूद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।
३. अहिले नेपाली कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर का वामपन्थी धारको बीचमा छ । कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु हुँदैन । पार्टी विधानको सर्वोच्चता, विधि र पद्धतिलाई हामीले अपनाउन सकेनौं भने निरंकुशताको विरोध गर्ने हक गुमाउन पुग्छौं ।
४. सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बांग्लादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं ।
५. विशाल जनाधार, गौरवशाली राजनीतिक इतिहास, सारा संरचना र संयन्त्र भएर पनि हामी तदर्थबादी कार्यशैलीबाट चलिरहेका छौं तर तदर्थवादी शैलीले न शक्ति आर्जन र शक्ति सञ्चय होला, बरु भएको शक्ति नै ह्रास भएर जान्छ ।
६. एशिया–प्यासिफिक ग्रुप (एपीजी) मातहतको फाइनेन्सियल एक्सन टास्क फोर्सले दिएको प्रतिवेदनका आधारमा नेपाल ग्रे लिस्टमा परेको वर्तमान अवस्था छ। गतवर्षभन्दा एक अंकले तल झरेको भ्रष्टाचार सूचकाङ्कबाट गुज्रिरहेकोले, अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको छ। ऋणको भारी र भ्रष्टाचारको महामारीले देश आक्रान्त छ। अब युद्धस्तरमा पार्टीले कोर्श करेक्सनको बाटो नलिने हो भने प्रतिक्रान्तिको आँधीले कसैलाई दया–माया नगर्ने निश्चित छ ।
७. कांग्रेस इतिहासमा सदैव सङ्कटमोचक शक्तिको भूमिकामा रहँदै आयो । हरेक परिवर्तनलाई सुरक्षित अवतरणको जिम्मेवारी पाएको पृष्ठभूमिमा अब देशलाई ध्रुवीकरण, द्वन्द्व र विभाजनबाट बचाउनु हाम्रो दायित्व हो ।
प्रतिक्रिया 4