+
+
Shares

आठ महिनामा ३ लाख टन रासायनिक मल बिक्री

कृषि सामग्री केन्द्रले युरिया, डएपी र पोटास गरी २ लाख ३२ हजार २ सय ६४ टन र साल्ट ट्रेडिङले ५७ हजार ९ सय ४५ टन मल बिक्री गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:२३
फाइल तस्वीर

१० चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ आठ महिना सकिँदा करिब ३ लाख टन रासायनिक मल बिक्री गरेको छ ।

कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले गरी चालु आव फागुन मसान्तसम्ममा २ लाख ९० हजार २ सय ९ टन मल बिक्री गरेको हो ।

गत आवको मौज्दात सहित कृषि सामग्री केन्द्रले युरिया, डएपी र पोटास गरी २ लाख ३२ हजार २ सय ६४ टन मल बिक्री गरेको हो । यस्तै साल्ट ट्रेडिङले युरिया, डीएपी र पोटास गरी ५७ हजार ९ सय ४५ टन मल बिक्री गरेको हो ।

दुवै कम्पनी गरी युरिया १ लाख ८२ हजार ८ सय ९० टन, डीएपी ९६ हजार ६ सय ८१ टन र पोटास १० हजार ६ सय ३७ टन मल बिक्री भएको हो ।

वार्षिक लक्ष्यको सबै मल टेन्डर

यो वर्ष सरकारले ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म २ लाख ६७ हजार ९ सय ७८ टन मल आयात भइसकेको छ ।

‘हामीले ल्याउनुपर्ने सबै मलको टेन्डर गरिसकेका छौं । यो आइसकेको मलको मात्रै विवरण हो । प्रक्रियागत ढंगले मल ल्याउन समय लाग्ने भएर आउन ढिला भएको मात्रै हो । साढे ५ लाख टन मल नै टेन्डर भइसकेको छ,’ कृषि मन्त्रालयका एक उच्च अधिकारीले भने ।

सरकारले रासायनिक मलका लागि यो वर्ष २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ ।

कृषि सामग्री केन्द्रले हालसम्म युरिया, डीएपी र पोटास गरी २ लाख ३८ हजार ६ सय ४८ टन मल आयात गरेको छ । साल्ट ट्रेडिङले युरिया र पोटास गरी २९ हजार ३ सय ३० टन मल आयात गरेको छ ।

साल्ट ट्रेडिङले डीएपी मल भने आयात गरेको छैन । दुवै कम्पनी गरी युरिया १ लाख ६६ हजार ८ सय ३४ टन, डीएपी ८७ हजार ७ सय ३३ टन र पोटास १३ हजार ४ सय १० टन मल आयात भएको हो ।

७७ हजार टन मल मौज्दात

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङसँग गरी ७७ हजार टन रासायनिक मल मौज्दात छ ।

कृषि सामग्री केन्द्रसँग ६५ हजार ४ सय ८५ टन र साल्ट ट्रेडिङसँग ११ हजार ५ सय ७४ टन मौज्दात रहेको हो । युरिया २३ हजार ६ सय ७५ टन, डीएपी ४० हजार १ सय ७९ टन र पोटास १३ हजार २ सय ४ टन मल मौज्दात रहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?