१० चैत, बुटवल । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा रुपन्देही ११ लाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जितमा हरि कार्कीको एकमात्र गोल निर्णायक बन्यो । शनिबार नै भएको खेलको १७औं मिनेटमा कार्कीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ सुरु भएसँगै हावाहुरी चलेपछि खेल रोकिएको थियो ।
रोकिएको खेल आइतबार भएको हो । दोस्रो दिन भएको खेलमा रुपन्देही ११ ले गोल फर्काउन नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
अब एपीएफले फाइनल प्रवेशका लागि संकटा र जर्जियन एफसी भारतबीच हुने खेलको विजेतासँग खेल्ने छ । खेलमा एपीएफका गोलकिपर विशाल गुरुङ प्लेयर अफ दी म्याच घोषित भए ।
यस्तै आइतबार भएको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रकेरमा हराउँदै चर्च ब्वाइज युनाइटेट सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा चर्च ब्वायज ४–३ गोलले विजयी भएको हो ।
योसँगै चर्च ब्वाइजले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब भारतबीचको विजेता टिमसँग खेल्ने छ ।
प्रतिक्रिया 4