
१० चैत, काठमाडौं । दक्षिण छिमेकमा डेढ महिनासम्म चलेको कुम्भमेलाले विश्वको ध्यान खिच्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई शताब्दीकै ठूलो मानवसागर उर्लिएको धार्मिक जमघटका रुपमा व्याख्या पनि गरे ।
नेपालबाट कांग्रेससँगै कम्युनिस्ट पार्टीका नेताहरूदेखि व्यवसायी र ठूलो संख्यामा नागरिक भारतको प्रयोगराजमा भएको यो मेलामा तीर्थाटन गर्न पुगे । छिमेकमा कुम्भमेला चलिरहँदा काठमाडौंको संसद्मा भवनमा उभिएर सांसद्हरूले नेपालमा पनि धार्मिक पर्यटनको सम्भावनाबारे भाषण गरे ।
सत्तारुढ नेपाली कांग्रेस महामन्त्री गगन थापाले भारतले ५८ करोड धार्मिक पर्यटक भित्र्याउन सक्छ भने नेपालले पनि कम्तीमा १ करोड भित्र्याउन सक्नुपर्ने बताए ।
भारतमा कुम्भ मेला आयोजना गर्न नरेन्द्र मोदी नेतृत्वको सरकार र उनको दल भारतीय जनता पार्टी (बीजेपी) नै संलग्न थियो र यसले राष्ट्रिय अभियानकै रुप लिएको थियो । नेपालमा चाहिँ कुम्भ मेला आसपासको समयमा मात्र धार्मिक पर्यटनको बहस सीमित भयो ।
तर, अहिले त्यो बहसलाई सम्झाउँदै वाचन प्रविण दिनबन्धु पोखरेल राजनीतिज्ञहरूलाई नेपाललाई धार्मिक पर्यटनको थलो बनाउने सम्भावनाबारे गुरुयोजना सुनाइरहेका छन् । शुक्रबार मात्रै पोखरेलले पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर भारतको कुम्भ मेलामा झैँ नेपालमा धार्मिक पर्यटन सम्भावनाबारे संवाद गरे ।
‘खासमा नेपाल स्पिरिच्युल सेन्टर (धार्मिक केन्द्र) हो, विश्वको आध्यात्मिक गुरु राष्ट्र हो’, पोखरेल भन्छन्, ‘यहाँ शिव र बुद्धले योग गरे, ध्यान गरे, साधना गरे । त्यो कुरालाई उठान गर्नका लागि हामीले अध्यात्मिक केन्द्र बद्रीधाम बनाएका छौं ।’
काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटमा उनले बनाएको नारायण बद्री धामलाई धार्मिक पर्यटनका केन्द्र बनाउने भन्दै उनले अभियान चलाइरहेका छन् ।
धामको उद्घाटनमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि मुख्य राजनीतिक दलका प्रमुखहरूसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई निम्ता गर्ने तयारी गरिरहेका छन् । त्यसक्रममा उनले आफ्नो योजना सबैलाई सुनाइरहेका छन् ।
‘भारतमा कुम्भमा एउटा जनउभार नै सहभागी भयो, ५० करोड बढी मानिस त्यहाँ सहभागी भए’, उनी भन्छन्, ‘त्यसमा नेपालबाट पनि धेरैको सहभागिता भयो, अरु बेला पनि सयौं मानिसहरु चार धाम जाँदा लाखौं रकम बाहिरिरहेको छ ।’
यस्तोमा बुबा स्वर्गीय वाचन शिरोमणि नारायण पोखरेल स्मृति प्रतिष्ठानमार्फत् नागार्जुनमा बद्रीधाम बनाएका उनले धार्मिक पर्यटकलाई मुलुकमा भित्र्याउने योजना बनाएका छन् ।
पोखरेलको बुझाइमा, २४ रोपनी क्षेत्रफलमा फैलिएको धामले भारतको उत्तराखण्डमा रहेको बद्रीधाम जाननसक्ने वृद्धवृद्धा, विपन्न, अशक्त, असहायका लागि विकल्प दिनेछ । ‘साथै, त्यहीँबाट योग र ध्यानलाई पनि प्रवद्र्धन गरिनेछ, जसले देशलाई पनि एउटा आध्यामिक पर्यटकीय तीर्थभूमि हो भन्ने हिसाबले गरिमा उँचो गर्नेछ’, उनी थप्छन् ।
सनातनीलाई बद्रीधाम, अरुलाई योग र ध्यान
नागार्जुनमा बद्रीधाम उद्घाटन गर्न अगामी बद्रिनारायण प्राण प्रतिष्ठा कार्यक्रम राखिएको आयोजिक समितिका संयोजक जयराम लामिछाने बताउँछन् । उनका अनुसार, त्यसका लागि ३ हजार १ जना भएको समारोह समिति बनाइएको छ भने तत्काललाई १८ करोड रुपैयाँ लगानीमा संरचना बनाइएको छ ।
‘नेपाली भूमिमा धेरै पूर्वज ऋषिमुनिहरूले साधना गरेकाले यहाँको माटोमा ऊर्जा उर्जित भएका पाउँछन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल आउँदा त्यो कुरा बताउनुभएको थियो’, वाचन प्रविण पोखरेल प्रष्ट्याउँछन्, ‘उहाँले पशुपतिनाथ, खप्तड बाबा, शिवपुरी बाबा लगायतको नाम लिनुभएको थियो, त्यसैले हामीले पनि वैदिक सनातनीहरूले एकपटक नेपाल टेक्नुपर्छ भन्ने अभियान चलाउन खोजेका छौं ।’
यो अभियानमार्फत् भारत वा विश्वका जुनसुकै मुलुकमा रहेर सनातनी धर्मको विश्वास गर्नेहरूलाई एकपटक नेपाल भूमि टेक्नुपर्छ भन्ने हिसाबले प्रेरित गर्न खोजिएको उनी बताउँछन् ।
‘जसरी कुम्भको ब्रान्डिङ भयो, त्यसमा त्यहाँको सामाजिक आर्थिक वा राजनीतिक क्षेत्रबाट एकजुट भएर अभियान चलाइयो’, पोखरेलले थपे, ‘हामीले पनि सनातनीहरूलाई एउटा अध्यात्मिक केन्द्रको रुपमा नेपाल टेक्नुपर्छ भन्ने हिसाबले ब्रान्डिङ गर्ने र जो सनातनी धर्ममा विश्वास गर्दैनन्, उनीहरूलाई नेपाल योग र ध्यानको केन्द्र हो है भन्ने हिसाबले नेपालमा ल्याउनुपर्छ भन्ने मान्यता लिएका छौं ।’
योग ध्यान भनेको हिम्वत सभ्यताको परिणाम भएको भन्दै उनी भन्छन्, ‘हिमालमा साधना गर्ने साधकहरू जस्तै शिवजी र बुद्धले यहीँबाट ध्यान सुरु भयो, कपिलले कपिलवस्तुबाट योग सुरु गर्नुभयो, त्यसैले योग साधनको नेपाल उर्भरभूमि, प्रारम्भभूमि हो भन्ने हिसाबले बद्री धाममार्फत ब्रान्डिङ गर्न खोजेका छौं ।’
वैदिक सनातन धर्ममा विश्वास नगर्नेहरूलाई पनि योग, साधनमार्फत् नेपालमा जोड्न सकिने भन्दै उनले नेपालमा ‘स्पिरिच्युअल टुरिज्म’ (धार्मिक पर्यटन) को सम्भावनाबारे चर्चा गरे ।
‘साधन गर्ने व्यक्तिहरू चाहे इसाइ धर्मवालम्बी हुन्, चाहे मुस्लिम धर्मवालम्बी हुन्, एकपटक योग साधनाको केन्द्र नेपाल टेक्नुपर्छ भन्ने एउटा अभियानको सुरुवात गर्न खोजेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले यसलाई आध्यात्मिक साधना केन्द्र पनि भनेका छौं, त्यो भनेको पुजा पाठ नृत्यकर्म मात्र होइन, आफूलाई खोज्ने प्रक्रिया हो ।’
अहिले समाजमा डिप्रेसन र आत्महत्याको ग्राफ बढिरहेको सन्दर्भमा आफूलाई कसरी शान्त राख्ने, कसरी सन्तुलित राख्ने, कसरी व्यस्त राख्ने ? भन्ने विषय मुख्य चिन्ता बनिरहेको उनी बताउँछन् ।
‘अहिले मान्छे अर्बपति छ, तर सुत्ने बेलामा स्लिपिङ ट्याबलेट खाएर सुतेको छ’, उनी विश्लेषण गर्छन्, ‘त्यो अध्यात्मको कमी हो, अध्यात्म भनेको पूजा पाठ, नित्यकर्म र तीर्थ वर्त गर्ने मात्र होइन, अध्यात्म आफ्नो खोजी गर्ने र आफूलाई व्यवस्थित तगर्ने तरिका हो, जीवन जिउने कला हो ।’
नयाँ विचारधाराको परिकल्पना
अहिलेको सामाजिक अवस्थालाई विश्लेषण गरेर उनी नयाँ विचारवादको समेत व्याख्या गरिरहेका छन् ।
‘अहिलेसम्म कमै गुरुहरूले त्यो विषयमा वकालत गर्नुभएको छ, आश्रम बनाउनु भएको छ, गुरुकुल चलाउनु भएको छ, तर यो विषयको वकालत गर्नुभएको छैन’, उनी भन्छन्, ‘हामीले चाहिँ अहिलेको सन्दर्भमा समाज यसरी चल्नुपर्छ भनेर पनि भन्न खोजेका छौं यद्यपि, हामीले राजनीति गर्न खोजेका होइनौं, एउटा सिद्धान्त दिन खोजेका हौं ।’
उनको बुझाइमा अहिलेको समाजको आवश्यकता अध्यात्मवाद र भौतिकवादको समायोजनको मध्यमार्गी धार हो ।
‘मान्छे भौतिकवादी पनि हो, अध्यात्मवादी पनि हो’, उनी भन्छन्, ‘उसलाई धन चाहिन्छ, वैभव चाहिन्छ । बाह्य समृद्धि चाहिन्छ, देश देशाटन गर्नुपर्छ । यो लुगा लगाएको, फोन चलाएको मैले मान्दिनँ भने भने म पाखण्डी हुन्छु ।’
मानिस भौतिकवादी मात्र हुँदा अलि जड सुत्रवादी बन्ने भन्दै उनी थप्छन्, ‘त्यसैले भौतिकवादसँगै अहिलेको समाजमा चल्नलाई मानिसहरूलाई प्रेम, करुणा, दया र क्षमाको आवश्यकता छ, त्यसका लागि मानिस अध्यात्मवादी पनि हुनुपर्छ ।’
उनको बुझाइमा, मस्तिष्कमा व्यवस्थापन गर्न र मानसिक रोगी नहुनका लागि व्यक्ति अध्यात्मवादी हुनुपर्छ ।
‘त्यसैले आन्तरिक शान्ति अध्यात्मवादले र बाह्य शान्ति भौतिकवादले हुन्छ भन्ने हाम्रो सिद्धान्त हो, आन्तरिक शान्ति र बाह्य समृद्धि दुई चिजको संयोजनबाट नै अहिलेको समय चल्नुपर्छ’, उनी थप्छन्, ‘अर्बपतिका छोराहरूले किन आत्महत्या गरिरहेका छन्, कारण बाह्य समृद्धि भयो, आत्मशान्ति भएन । त्यसैले अध्यात्मको अंशलाई उजागर गर्नलाई हामीले एउटा विचारवादकै वकलात गरिरहेका छौं ।’
अध्यात्मकवाद र भौतिकवादको मध्यमार्गी धारबाट समाज सम्बोधित हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उनी बताउँछन् । त्यसैले नवनिर्मित अध्यात्मिक केन्द्रबाट यो दर्शनलाई पनि अघि बढाउन खोजिएको उनी बताउँछन् । यस्तो प्रस्ताव सुनाउँदा देशका कट्टर कम्युनिष्ट भनिएका नेताहरूबाट समेत सकरात्मक प्रतिक्रिया पाएको भन्दै उनी उत्साहित छन् ।
दिनबन्धुका बुवा स्वर्गीय नारायण पोखरेल देशका चर्चित पुराणवाचक थिए । विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष समेत रहेका बेला वाचन शिरोमणि पोखरेलको तत्कालीन विद्रोही माओवादीले रुपन्देहीमा हत्या गरेका थिए ।
तस्वीरहरू: आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4