
काठमाडौं । ‘धर्मा’पछि अभिनेत्री मनिषा कोइरालालाई नेपाली फिल्ममा फर्किने समय जुरिरहेको छैन । राम्रो कथा र रोल भए फिल्ममा फर्किने भनेर उनले बताउन थालेको पनि वर्षौं बितिसक्यो ।
फेरि पनि, उनले राम्रो रोल र विषय भए नेपाली फिल्ममा फर्किन तयार रहेको बताउँदै पुनरागमनको चाहना व्यक्त गरेकी छिन् । स्रोतका अनुसार, यसबीचमा उनलाई केही नेपाली फिल्मबाट अफर नआएको पनि हैन ।
बरु, उनी पछिल्लो समय बलिउडमै ब्यस्त रहिन् । संजयलीला भन्सालीको नेटफ्ल्क्सि वेबसिरिज ‘हीरामण्डी’ले अभिनयमा उनको दमदार पुनरागमन भयो । उनी पुनः ‘हीरामण्डी’कै दोस्रो श्रृंखला देखिनेछिन् ।
यस्तोमा, मनिषाले नेपाली फिल्मबारे काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा चर्चा गरिन् । ‘सिनेमा संवाद’ नामक छलफल सत्रमा उनले नेपाली फिल्ममा अभिनय गर्न इच्छुक भएको बताइन् ।
उनले भनिन्, ‘नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्नुभयो भने, म अवश्य नेपाली चलचित्रमा काम गर्छु ।’ उनले आफनो करिअरको सुरुमै नेपाली फिल्मकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् ।
विदेशी फिल्मको नक्कल गरेर बनाइने नेपाली फिल्मले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका फिल्मले पाइरहेको सफलताको चर्चा गरिन् ।
‘मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले फिल्म बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक फिल्मले हामीलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उभ्याउन सफल भएको छ भने व्यावसायिक फिल्मले नयाँ कीर्तिमान बनाइरहेको छ’ उनले भनिन् ।
कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेबश्रृंखला ‘हीरामण्डी’ले चर्चा पाएको थियो । निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको श्रृंखलाबाट मनिषाले अवार्ड पनि जितिन् ।
भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताईन् । उर्दु भाषा बोल्नुपर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण उनले गरिन् ।
प्रतिक्रिया 4