
काठमाडौं । सलमान खान र रश्मिका मन्दानाले आगामी फिल्म ‘सिकन्दर’मा पहिलोपटक स्क्रिन सेयर गरेका छन् । फिल्म घोषणा भएदेखि नै २८ वर्षिया रश्मिकालाई ५९ वर्षीय सलमानसँग कास्ट गरेकोमा धेरैले प्रश्न उठाएका थिए ।
‘सिकन्दर’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि सलमानले यो प्रश्नको सामना गर्नुपर्यो । यस विषयमा ट्रोल गर्नेहरूलाई सलमानले जवाफ दिएका छन् ।
कार्यक्रममा सलमानलाई उनी र रश्मिकाबीच ३१ वर्षको उमेरको अन्तरबारे प्रश्न सोधिएको थियो । जवाफमा सलमानले भने, ‘जब हिरोइनलाई प्रब्लम भैरहेको छैन भने तपाईंलाई त्यस्तो के भयो ? उनको विवाह भयो र बच्चा पनि भएमा उनीसँग पनि काम गर्छु । आमाको अनुमति पक्कै लिन्छु ।’
कुराकानीका क्रममा सलमानले रश्मिकाको प्रशंसा गरेका थिए । रश्मिकालाई देख्दा आफ्नो बाल्यकालको याद आउने सलमानले बताए । सलमानले रश्मिकाले एकैसाथ दुई ठूला प्रोजेक्ट ‘पुष्पा २’ र ‘सिकन्दर’मा काम गरिरहेको बताए ।
सलमानले भने, ‘रश्मिकाले साँझ ७ बजेसम्म फिल्म पुष्प २ को सुटिङ गर्थिन् । राति ९ बजे सिकन्दरको सेटमा आइपुग्थिन् र बिहान साढे ६ बजेसम्म हामीसँग सुटिङ गर्थिन् र त्यसपछि पुष्पाको सेटमा फर्किन्थिन् । यसक्रममा खुट्टामा चोट लागेपनि उनले सुटिङ जारी राखिन् र एक दिन पनि सुटिङ रद्द गरिनन् ।’
सलमान र रश्मिका बाहेक फिल्ममा काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय छ । एआर मुरुगादासद्वारा निर्देशित र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म इदको अवसरमा आइतबार प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4