
११ चैत, काठमाडौं । धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरिएको बताए ।
‘हामीले हिजै सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं । आज म्याद थप गर्ने प्रक्रियामा छौं,’ उनले अनलाइनखबरसँग भने ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो ।
मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको जयसवारले बताए ।
शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्र्याकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे शव भेटिएको थियो ।
उनका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेकोजस्तो समेत देखिएको छ । शवको आइतबार सनाखत भएको थियो । शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगे/नपुगेको प्रहरीले केही खुलाएको छैन ।
कुनै रिसिईबीका कारण हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अर्कोतर्फ भने हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । कुनै प्रेमसम्बन्धमा रहेका कारण उक्त समूहले हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ ।
मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ ।
शिवशंकरलाई मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको जयसवारले बताए ।
शिवशंकरको परिवारका अनुसार केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएको भाइ रामको भनाइ छ ।
प्रतिक्रिया 4