+

कोलेस्टेरोल बढ्ने १० कारण, कसरी नियन्त्रणमा राख्ने ?

२०८१ चैत  ११ गते १४:३१ २०८१ चैत ११ गते १४:३१
Shares
कोलेस्टेरोल बढ्ने १० कारण, कसरी नियन्त्रणमा राख्ने ?

कोलेस्टेरोल मुख्यतया दुई किसिमका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टेरोल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टेरोल’। कोलेस्टेरोल बढ्यो भने मुटुको स्वास्थ्यको जोखिम बढ्छ र कम भयो भनेमुटुको स्वास्थ्यसँगै अन्य रोगको जोखिम पनि बढ्छ ।

त्यसैले कोलेस्टेरोलको स्तर सन्तुलनमा राख्नु निकै जरुरी छ । उच्च कोलेस्टेरोलको कारण बुझेमा यसलाई सन्तुलनमा राख्न सजिलो हुन्छ।

शरीरमा कोलेस्टेरोलको मात्रा बढेपछि रक्तनलीमा कोलेस्टेरोल जम्मा हुनथाल्छ। अझै कोलेस्टेरोल बढ्यो भने रक्तनलीहरूमा अवरोधको समस्या सुरु हुनसक्छ, जसले रक्त प्रवाहमा पनि नकारात्मक असर पार्नसक्छ।

जब शरीरमा उच्च कोलेस्टेरोलको अवस्था सुरु हुन्छ,  यसको नकारात्मक प्रभाव सबैभन्दा पहिले मुटुमा र त्यसपछि मिर्गौलामा पर्छ र बिस्तारै शरीरका अन्य अंगमा पनि यसको प्रभाव देखिन थाल्छ। उच्च कोलेस्टेरोल सन्तुलनमा राख्न स्वस्थ खानपान र शारीरिक क्रियाकलापमा विशेष ध्यान दिनुपर्छ।

कोलेस्टेरोल उच्च हुने १० कारण

१‍.अस्वस्थकर खाना

कोलेस्टेरोल बढ्ने सबैभन्दा प्रमुख कारण अस्वथकर खानपान हो। विभिन्न जनावरका मासु, प्रशोधित मासु जस्तैः ससेज, चिज, बटर, आइसक्रिम, तारेका र प्रशोधित खानेकुरा, केक, नरिवलको तेल, पल्म तेल जस्ता स्याचुरेटेड फ्याटयुक्त खानाले कोलेस्टेरोल बढाउँछ।

२.वंशाणुगत कारण

उच्च कोलेस्टेरोलको समस्या हुनुको पछाडि वंशाणुगत कारण पनि हुन्छ। परिवारमा उच्च कोलेस्टेरोलको समस्या छ भने घरका अन्य सदस्यमा कोलेस्टेरोल उच्च हुने खतरा हुन्छ।

३.मोटोपना

शरीरको तौल धेरै बढ्यो भने धेरै रोग लाग्ने जोखिम बढ्छ। मोटोपनाको कारण देखा पर्ने समस्यामा एक कोलेस्टेरोल पनि पर्छ।

४‍.आलस्यता

यो शब्दसँग हामी सबै परिचित छौँ, तर यदि हरेक दिन अल्छी लाग्छ, कुनै पनि काम गर्न मन लाग्दैन । यसले गर्दा उच्च कोलेस्टेरोल र अन्य शारीरिक समस्याहरूको जोखिम बढाउन सक्छ।

५.धूम्रपान

धूम्रपानले पनि कोलेस्टेरोलको मात्रा बढाउँछ। चुरोट पिउँदा हाम्रो फोक्सोबाट ठूलो मात्रामा निकोटिन रगतमा प्रवेश गर्छ। जसका कारण शरीरबाट क्याटेकोलामाइन निस्कन्छ। क्याटेकोलामाइन स्तर बढ्याे भने लिपोलाईसिस, वा लिपिड ब्रेक डाउनलाई बढाउँछ, यसको मतलब शरीरमा संग्रहित फ्याट (चिल्लो पदार्थ) टुक्राउँछ र कोलेस्टेरोल बढाउँछ।

६.उमेर

बढ्दो कोलेस्टेरोलको कारणमा बढ्दो उमेर पनि समावेश हुन्छ।  उच्च कोलेस्टेरोलको समस्या पुरुष र महिला दुवैमा हुनसक्ने भएतापनि महिलामा रजोनिवृत्तिपछि उच्च कोलेस्टेरोलको समस्या बढी हुन्छ।

७.औषधि

केही औषधिको सेवनले ट्राइग्लाईसेराइडको स्तर बढाउँछ, जुन उच्च कोलेस्टेरोलको कारण हुनसक्छ। त्यसैले कुनै पनि प्रकारको औषधि चिकित्सकको सल्लाह लिएर मात्र सेवन गर्नुपर्छ।

८.मदिरा

मदिराको अत्याधिक सेवन गरेमा कलेजो र मुटुका मांसपेशीमा क्षति पुग्छ र यस्तो अवस्थाले उच्च रक्तचाप र उच्च कोलेस्टेरोलको समस्या निम्त्याउन सक्छ।

९.तनाव

बदलिँदो जीवनशैलीका कारण तनाव हुनु स्वाभाविक हो, तर उच्च कोलेस्टेरोलको कारणमा तनाव पनि समावेश छ। यदि व्यक्ति अत्याधिक तनावमा रहन्छ भने रोगको जोखिम बढ्छ।

१०.रोग

मधुमेह र हाइपोथाइराइडिज्म जस्ता रोगहरूले पनि कोलेस्टेरोलको स्तर बढाउन सक्छ।

कोलेस्टेरोल नियन्त्रण गर्ने उपाय

-स्वस्थ खानपानशैली अपनाउने, रेसादार (फाइबर) युक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने।

-शारीरिक रूपमा सक्रिय रहने, दैनिक व्यायाम, योग वा नियमित हिँड्ने बानी बसाल्ने।

-शरीरको तौल सन्तुलित राख्ने, कोलेस्टेरोलबाट बच्न तौल कम राख्नु पनि उत्तिकै महत्व हुन्छ।

-ताजा र मौसमी फलफूल खाने।

-मदिराबाट टाढा रहने।

-धूम्रपान नगर्ने।

-तनावबाट बच्ने।

-कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिने।

कोलेस्टेरोल
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय