मिर्गौलामा पनि क्षयरोग हुनसक्छ । यो सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । किनकी क्षयरोग फोक्सोमा मात्र हुन्छ भन्ने धेरैको बुझाइ छ । सामान्यतया फोक्सोको क्षयरोग धेरै सुनिन्छ । तर करिब १५ देखि २० प्रतिशत केसहरूमा क्षयरोगले फोक्सोबाहेक अन्य अंगहरूमा असर गर्छ । जसमध्ये मिर्गौला पनि एक हो ।
मिर्गौलामा देखिने क्षयरोग कस्तो ?
यो पनि अन्य प्रकारका क्षयरोग जस्तै हो, जसमा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाले मिर्गौलालाई असर गर्छ। साधारणतया, क्षयरोग फोक्सोलाई प्रभावित गर्ने रोग हो, तर यसको ब्याक्टेरिया रगतको माध्यमबाट शरीरका अन्य अंगहरूमा पनि पुग्ने क्रममा मिर्गौलालाई पनि असर गर्न सक्छ ।
मिर्गौलामा क्षयरोग कसरी फैलिन्छ ?
माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरिया प्रायः हाच्छिउँ गर्दा र खोक्दा श्वास–प्रश्वासमार्फत् फैलिनसक्छ। जब यो ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, तिनीहरूले पहिलो चरणमा फोक्सोलाई संक्रमित गर्छन् । समयमा उपचार भएन भने संक्रमण रगतको माध्यमबाट शरीरका अन्य भाग हुँदै मिर्गौलासम्म पनि पुग्न सक्छ।
जब ब्याक्टेरिया मिर्गौलामा पुग्छ, तब मिर्गौलाको भित्री तन्तुमा सङ्क्रमण सुरु हुन्छ । यो सङ्क्रमणको कारणले मिर्गौलामा ग्रानुलोमा नामक साना गाँठाहरू बन्न थाल्छन्, जसले दीर्घकालीन रूपमा मिर्गौलाको तन्तुलाई नष्ट गर्दै जान्छ ।
यदि समयमै उपचार भएन भने, मिर्गौलामा घाउ बनाउने र फाइब्रोसिस गराउने हुनसक्छ, जसका कारण मिर्गौलाको कार्यक्षमता गम्भीर रूपमा प्रभावित हुनसक्छ।
मिर्गौला क्षयरोग र अन्य मिर्गौला रोगबीच भिन्नता कसरी पहिल्याउने ?
मिर्गौला क्षयरोग र अन्य मिर्गौला समस्याको लक्षणले कहिलेकाहीँ भ्रमित गर्न सक्छ। जुन स्वाभाविक हो, तर मिर्गौला क्षयरोगको मुख्य कारण माइकोब्याक्टेरियम, ट्युबरकुलोसिस हो, जसले विशेषगरी मिर्गौलाका कोषिकाहरूलाई क्षति पार्छ।
अन्य मिर्गौला रोगहरू उच्च रक्तचाप, मधुमेह वा अन्य कारणले हुन सक्छन्, तर मिर्गौलाकाे क्षयरोग एक सङ्क्रामक रोग हो, जसले शरीरका अन्य भागमा पनि असर पार्न सक्छ।
लक्षण
मिर्गौला क्षयरोगका लक्षणहरू स्पष्ट रूपमा नदेखिन पनि सक्छन्। धेरै बिरामीहरू लामो समयसम्म सामान्य लक्षणहरू अनुभव गर्छन्, जसलाई अन्य रोगसँग भ्रम हुन सक्छ। जब क्षयरोगको असर बढ्दै जान्छ, तब केही लक्षणहरू देखिन सक्छन् ।
जस्तो:-
– बारम्बार पिसाब लाग्ने, पोल्ने, रगत मिसिएको पिसाब आउनु।
– विशेषगरी पिठ्यूँको तल्लो भाग र मिर्गौलाको क्षेत्रमा दुख्नु।
– सधैँ कमजोरी वा थकाइ महसुस हुनु।
– बारम्बार हल्का ज्वरो आउनु, विशेषगरी रातिको समयमा।
– खान मन नलाग्ने र शरीरको तौल निरन्तर घट्दै जानु।
– रातको समयमा बढी पसिना बग्नु ।
– यदि समयमै उपचार भएन भने, मिर्गौलाले राम्रोसँग काम गर्न छोड्न सक्छ।
पहिचान
यदि बिरामीमा यस्ता लक्षणहरू देखिएमा चिकित्सकले विस्तृत परीक्षण गर्नु आवश्यक हुन्छ। पिसाब परीक्षणमा युरिन एएफबी (एसिड फास्ट ब्यासिलाई) र पीसीआर परीक्षण, एक्स–रे, रगत परीक्षण, अल्ट्रासाउण्ड, सीटी स्क्यान तथा युरिन कल्चर परीक्षणबाट रोग पुष्टि गर्न सकिन्छ। कहिलेकाहीँ पिसाबमा किटाणु भेट्न कठिन हुन सक्छ, त्यसैले विशेष जाँच आवश्यक पर्न सक्छ।
उपचार कसरी गरिन्छ ?
यदि मिर्गौला क्षयरोगको पहिचान सुरुवाती चरणमै भयो भने क्षयरोग विरुद्ध चलाउने एन्टी टयुबरक्लोसिस थेरापीका (एटीटी) औषधिहरू प्रयोग गरेर उपचार गर्न सकिन्छ। यी औषधिहरू कम्तिमा ६ देखि ९ महिनासम्म निरन्तर खानुपर्छ।समयमा रोग पत्ता नलागेमा मिर्गौला नष्ट हुनसक्छ । र, कतिपयलाई डायलाइसिस वा मिर्गौला प्रत्यारोपणको आवश्यकता पर्न सक्छ। चिकित्सकले दिएका सबै टिबी औषधिहरू समयमा लिनु जरुरी छ। साथै, रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक आहार, जस्तै प्रोटिनयुक्त खाना, हरियो सागसब्जी र फलफूल खानुपर्छ ।
मिर्गौलाबाट टक्सिन हटाउन र स्वास्थ्य राम्रो राख्न दिनभर पर्याप्त पानी पिउनु आवश्यक छ। चिकित्सकसँग नियमित सम्पर्कमा रहनु र समय समयमा परीक्षण गराउनु पर्छ। टिबी संक्रमित व्यक्तिले आफ्नो औषधि समयमा लिनुका साथै अरूसँग निकट सम्पर्क राख्दा सावधानी अपनाउनु जरुरी हुन्छ।
जोखिम समूह
–क्षयरोग भएका बिरामीमा यसको जोखिम बढी हुन्छ । समयमै क्षयरोगको उपचार नगर्ने व्यक्तिहरूमा मिर्गौला क्षयरोगको जोखिम बढी हुन्छ ।
–एचआईभी÷एड्स संक्रमित, अत्याधिक धूम्रपान र मदिरा सेवन गर्ने व्यक्ति।
– मधुमेह, मिर्गौला र क्यान्सरका बिरामी ।
–कुपोषित वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति ।
– होस्टेल, ब्यारेक, धर्मशाला जस्ता समूहमा बस्ने व्यक्ति ।
रोकथाम
– क्षयरोग भएका बिरामीबाट टाढा रहनुपर्छ । किनकी यो सरुवा रोग हो ।
– हाछ्यूँ आउँदा मुख र नाक ढाक्नु पर्छ ।
– घर वा कोठाको राम्रो भेन्टिलेसन हुनु आवश्यक छ ।
– क्षयरोग भएका बिरामीले पूरा उपचार लिनु आवश्यक छ।
– पटक–पटक पिसाबमा समस्या भए तुरुन्त परीक्षण गराउनुपर्छ।
– व्यक्तिगत सरसफाइ र स्वास्थ्य सावधानी अपनाउनुपर्छ।
प्रतिक्रिया 4