
काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘महाभोज’को लागि नयाँ गीत रेकर्ड गरेका छन् । उनी गायक समेत हुन् ।
‘स्टुडियो फिल’मा सोमबार उनले ‘लालुमै’ बोलको गीत रेकर्ड गरे । गीतमा केतन क्षेत्रीको संगीत र हर्क साउदका शब्द छन् । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरिरहेका छन् ।
बस्नेतले राउतकै अघिल्लो फिल्म ‘पर्व’मा समावेश ‘काले दाइ’ पनि गाएका थिए । २०७४ सालमा रिलिज भएको फिल्मले बस्नेतलाई गायकको रुपमा समेत परिचय दिलाएको थियो ।
सो गीतमा बस्नेतले स्वर दिएका थिए भने माला लिम्बुसँग नृत्य गरेका थिए । अहिलेसम्म यो गीतलाई युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ ।
त्यसअघि बस्नेतले लुट, टलकजंग भर्सेस टुल्के, लप्पन छप्पन, दुई रुपियाँ, बुलबुलमा गीत गाएका थिए । उनले पछिल्लोपटक विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’को लागि पनि गीत गाएका थिए ।
निर्देशक राउतका अनुसार गीतको लागि बस्नेत नै उपयुक्त भएकाले उनलाई रोजिएको हो । ‘८ वर्षअघि पर्वको गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ’ राउतले भने ।
पहिले ‘काले दाइ’को रूपमा परिचित बस्नेत अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतले दाबी गरे । ‘महाभोज’ राउतको आठौं फिल्म हो । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली लगायतको अभिनय छ । यो फिल्मको छायांकन अहिले चलिरहेको छ ।
प्रतिक्रिया 4