
१२ चैत, काठमाडौं । मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन स्वास्थ्य मन्त्रालयले प्रा.डा. जगदिश अग्रवाललाई जिम्मेवारी दिएको छ ।
रोगको पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका हुन् ।
समितिका सदस्यहरुमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रोहितकुमार पोखरेल, मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपालका अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल छन् । सदस्य सचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल तोकिएका छन् ।
मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवंशिक रोगका बिरामी देशमा बढिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता मन्त्रालयका डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
नेपालमा हाल ८ सय यस्ता बिरामी प्रभावित भएको पाइएको छ । आनुवांशिकका अलावा अन्यमा समेत देखापर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवंशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँछन् ।
यो रोग भएका बालबालिका तथा परिवार अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ ।
समितिलाई रोग रोकथाम तथा परिवार र स्वस्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनर्स्थापना तथा आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।
प्रतिक्रिया 4