
काठमाडौं । नेपालमा मात्र होइन विश्वब्यापी फिल्मको कमाइमा गिरावट छ । ‘पुष्पा २’ र ‘छावा’बाहेक अरु भारतीय फिल्मले बम्पर कमाइ गर्न सकेनन् । नेपालमा पनि ‘पूर्णबहादुरको सारंगी’पछि ‘अञ्जिला’ र ‘होस्टेल ३’को कमाइ मात्र सुखद देखियो ।
हलिउडको हाल पनि अहिले यस्तै छ । नयाँ रिपोर्टअनुसार, कोरोना महामारीपछि हलिउडको कमाईमा देखिएको ठूलो गिरावटको क्षतिपूर्ति अहिले पनि हुन सकेको छैन । सन् २०२५ को पहिलो त्रैमासिक पनि सुस्त छ ।
टम क्रुजको आगामी फिल्म ‘मिसन इम्पोसिबल : फाइनल रेकोनिङ’, ‘सुपरम्यान’ र ‘अवतार : फायर एन्ड एस’जस्ता फिल्मबाट थप हलिउडलाई राहत मिल्ने आशा छ ।
रोयटर्सको रिपोर्टअनुसार गतवर्ष अमेरिका र क्यानडामा कुल बक्स अफिस कमाई ८.६ बिलियन डलर थियो । जबकि सोही आम्दानी सन् २०१९ मा महामारीअघिको ११.४ बिलियन डलरभन्दा लगभग २५% ले कम हो ।
अभिनेता, लेखकको हडतालले वर्ष २०२३ मा घाटा
सन् २०२३ मा कोरोना महामारीपछि हलिउडलाई ठूलो झट्का लागेको थियो । फिल्म उद्योगका लेखक तथा कलाकारले हडताल गरेका थिए । जसका कारण निर्माण भइरहेका फिल्मको बजेटमा वृद्धि भएको छ ।
किनभने फिल्मको छायांकन बीचमै रोकिएको थियो । हडतालका कारण सुटिङका लागि निर्माण गरिएका सेट लामो समयसम्म निष्क्रिय बस्नुपरेको र भाडा तिर्नुपर्ने बाध्यता थियो ।
उद्योगका दिग्गज अप्रिलमा लास भेगासमा भेला हुनेछन्
हलिउडमा फिल्म व्यवसायका ठूला नामहरू अर्को महिनाको सुरुमा लस भेगासमा हुने ‘सिनेमा-कन समिट’मा भेला हुनेछन् । यो समारोहमा उद्योगको अवस्थाबारे छलफल हुने बुझिएको छ ।
यस सम्मेलनमा हलिउड स्टुडियो र मल्टिप्लेक्स मालिकहरूको भेला हुनेछ । यसमा एएमसी इन्टरटेनमेन्ट, सिनेमार्क र सिनेवर्ल्डका साथै साना सहरका एकल-स्क्रिन थिएटरका मालिक र कार्यकारी समावेश हुनेछन् ।
‘अनोरा’का निर्देशकले भनेका थिए- अन्त्य यसरी हुनेछ
यस महिनाको अस्कर अवार्ड समारोहमा ‘अनोरा’ले उत्कृष्ट फिल्मसहित ५ अवार्ड जितेपछि उत्कृष्ट निर्देशक घोषित सिन बेकरले फिल्म निर्माता, वितरक र दर्शकलाई थिएटरमा सहयोग गर्न अपिल गरेका थिए । उनले भने, ‘थिएटर जाने अनुभव अहिले संकटमा परेको छ । महामारीको समयमा थिएटर स्क्रिनको संख्या घटेको छ । यदि हामीले यो प्रवृत्तिलाई परिवर्तन गरेनौं भने, हामीले हाम्रो संस्कृतिको महत्वपूर्ण भाग गुमाउनेछौं ।’
दर्शक ओटीटी रिलिजको लागि पर्खिरहेका छन्
विज्ञलाई उध्दृत गर्दै प्रतिवेदनमा दर्शकले अझै पनि ठूला बजेटका फिल्म हेरे पनि अहिले घरमै बसेर हेर्न पर्खिरहेका र त्यसमा खुसी रहेको बताएको छ । फिल्म ३ देखि ८ हप्ताभित्र ओटीटीमा आउने कुरा सामान्य भैसक्यो । जबकि पहिले कम्तिमा ३ महिना लाग्थ्यो ।
टम क्रुजको ‘मिसन इम्पोसिबल’को प्रतीक्षा
हलिउडले यो वर्ष आउने महिनामा केही ठूला फिल्मबाट कमाइको अपेक्षा गरेको छ । यसमा ‘मिसन इम्पोसिबल : द फाइनल रेकनिङ’ समावेश छ, जुन लामो समयदेखि चलिरहेको एक्सन फ्रेन्चाइजीमा क्रुजको अन्तिम फिल्म हुन सक्छ । यो फिल्म मे २३ मा रिलिज हुँदैछ ।
जुन २७ मा रिलिज हुने ब्राड पिटको ‘एफ वन’बाट पनि धेरै अपेक्षा छन् । यो फिल्ममा ब्राड पिटले फर्मुला वन चालकको भूमिका निर्वाह गरेका छन् । ११ जुलाईमा वार्नर ब्रदर्सले आफ्नो नयाँ ‘सुपरम्यान’ फिल्म रिलिज गर्नेछ, जसलाई ’गार्डियन्स अफ द ग्यालेक्सी’ निर्माता जेम्स गनले निर्देशन गरिरहेका छन् । फिल्ममा डेभिड कोरेनस्वेट मुख्य भूमिकामा छन् ।
मार्वल सिनेम्याटिक युनिभर्सको एन्टीहिरो फिल्म ‘थन्डरबोल्ट्स’ पनि मे २ मा रिलिज हुनेछ र ग्रीष्मकालीन फिल्म सिजनको सुरुवात गर्नेछ । त्यसपछि ‘द फ्यान्टास्टिक फोर : फस्ट् स्टेप्स’ जुलाईको अन्त्यमा २५ तारिखमा रिलिज हुनेछ ।
वर्षको अन्त्य नोभेम्बर र डिसेम्बरमा बिदा र चाडपर्वको बीचमा दोस्रो म्युजिकल बक्स अफिस फिल्म ‘विक्ड : पार्ट २’ नोभेम्बर २१ मा रिलिज हुँदैछ । एनिमेसन फिल्म ‘जुटोपिया २’ पनि नोभेम्बर २६ मा रिलिज हुँदैछ । जेम्स क्यामरुनको ‘अवतार’ फ्रेन्चाइजको तेस्रो फिल्म ‘अवतार : फायर एन्ड एस’ वर्षको अन्त्यमा डिसेम्बर १९ मा रिलिज हुँदैछ ।
सन् २०२५ मा ९ बिलियन डलर कमाइको प्रक्षेपण
गतवर्षको तुलनामा सन् २०२५ मा हलिउडको घरेलु बक्सअफिस कमाईमा सामान्य तर थोरै बृद्धि हुने अनुमान बजार विज्ञले गरेका छन् । हलिउडको घरेलु बक्स अफिस कमाई सन् २०२५ मा ९ बिलियन डलर पुग्ने अनुमान छ ।
प्रतिक्रिया 4