+

ब्रिसबेनको ऐतिहासिक गाबा क्रिकेट रंगशाला भत्काइने

२०८१ चैत  १२ गते १४:४८ २०८१ चैत १२ गते १४:४८
ब्रिसबेनको ऐतिहासिक गाबा क्रिकेट रंगशाला भत्काइने

१२ चैत, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रसिद्ध गाबा क्रिकेट स्टेडियम सन् २०३२ को ओलम्पिक खेलपछि भत्काइने भएको छ । यसको बदलामा भिक्टोरिया पार्क क्षेत्रमा ६० हजार दर्शक क्षमताको नयाँ आधुनिक रंगशाला निर्माण गरिनेछ, जुन क्वीन्सल्यान्डको नयाँ क्रिकेट केन्द्र बन्नेछ।

क्वीन्सल्यान्डका प्रिमियर डेविड क्रिसाफुलीले मंगलबार यो योजना सार्वजनिक गर्दै क्रिकेटको भविष्य सुनिश्चित भएको बताएका हुन्। यसअघि गाबाको मर्मतका लागि २.७ अर्ब अष्ट्रेलियन डलर बजेट छुट्याइएको थियो, तर खर्च अत्यधिक भएपछि परियोजना स्थगित गरिएको थियो।

क्रिकेट अष्ट्रेलियाले यो निर्णयको स्वागत गर्दै भनेको छ, ‘नयाँ स्टेडियमले ब्रिसबेनलाई उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूको केन्द्र बनाउनेछ।’ गाब्बाले सन् १९३१ देखि टेस्ट क्रिकेट आयोजना गर्दै आएको थियो, तर अब नयाँ रंगशालाले त्यसको स्थान लिनेछ।

गाबा स्टेडियम आफ्नो तेज बल र उचाइयुक्त पिचका कारण परिचित छ, जसले यसलाई तीव्र गतिका बलरहरूका लागि अनुकूल मैदान बनाएको छ। यही विशेषताको कारण यो गाबा ‘ग्याबाटोइर’ उपनामले समेत परिचित छ।

सन् १९८८ देखि २०२१ सम्म, गाब्बा अष्ट्रेलियाको सबैभन्दा सुरक्षित क्रिकेट मैदान रह्यो, जहाँ अष्ट्रेलियाले लगातार अपराजित यात्रा कायम राख्यो। विशेषगरी अधिकांश टेस्ट खेलहरू अष्ट्रेलियाली समरको पहिलो टेस्टका रूपमा यहाँ खेलिने गर्थे, जसले घरेलु टोलीलाई बलियो सुरुवात दिलाउँथ्यो।

२०२१ मा भारतले गाबामा अस्ट्रेलियालाई हराएपछि त्यो ऐतिहासिक अपराजित यात्रा टुङ्गिएको थियो। तथापि गाबाको तेज विकेट र बलरहरूलाई प्रदान गर्ने फाइदाका कारण यो मैदान क्रिकेट इतिहासमा विशेष स्थान राख्नेछ।

सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश भएमा गाबाले अन्तिम अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्ने बताइएको छ। क्रिकेट क्वीन्सल्यान्डका सीईओ टेरी स्वेन्सनले गाबाले धेरै अविस्मरणीय क्षण दिएको भएपनि अब भविष्यतर्फ हेर्ने बेला आएको बताए ।

सन् २०३२ ओलम्पिकसँगै अष्ट्रेलियाका अन्य प्रमुख रंगशाला विकास योजनाहरू अघि बढ्दै छन्, जसले देशलाई ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना गर्न बलियो बनाउने बुझिएको छ।

-एजेन्सीबाट

गाबा क्रिकेट रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय