+
+
Shares

आन्तरिक बसाइँसराइ प्रवृत्ति : सहरमा थुप्रिँदै जनसंख्या

साना सहरबाट ठूला सहरतर्फ खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरबाट बसाइँसराइको संख्या अत्यधिक भएको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १५:४७
फाइल तस्वीर

१२ चैत, काठमाडौं । नेपालमा पछिल्ला दशकमा सहर केन्द्रित आन्तरिक बसाइँसराइ ह्वात्तै बढेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आन्तरिक बसाइँसराइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

२०७८ सालको जनगणनामा आधारित प्रतिवेदनले ठूला सहर केन्द्रित बसाइँबसाइ दर अत्यधिक रहेको देखिएको छ ।

बागमती प्रदेशमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र र सहरी क्षेत्रबाट पनि सहरी क्षेत्रकै आयतन (संख्या) समेत बढ्दो क्रममा रहेको देखिन्छ । यस प्रदेशमा ग्रामीणबाट सहरी बसाइँसराइ दर ४९.७ प्रतिशत र सहरबाट सहरमै बसाइँ सर्नेको संख्या ४४.९ प्रतिशत रहेको देखिएको छ ।

यसको कारण साना सहरबाट ठूला सहरतर्फ खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरबाट बसाइँसराइको संख्या अत्यधिक भएको देखिएको छ ।

समग्र देशको प्रवृत्ति हेर्दा आन्तरिक बसाइँसराइ दर २९.२ प्रतिशत रहेको छ । सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छाड्ने जनसंख्या पहाडमा बढी देखिएको छ । जहाँबाट ३२ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिएको छ ।

दोस्रो स्थानमा तराई छ । तराईबाट २८.९ प्रतिशत र हिमाली भेगबाट १३.८९ प्रतिशत मानिसले थातथलो छाड्ने गरेको पाइएको छ । पहाडी भेगका काठमाडौं, पोखरा र तराई भेगका चितवनमा जनसंख्या अधिक बढ्नुमा आन्तरिक बसाइँसराइ मुख्य कारण देखिएको छ ।

जिल्लागत हेर्दा सबैभन्दा कम बसाइँसराइ भएका १२ जिल्लामा पर्सा, रौतहट, नवलपरासी पूर्व/पश्चिम, भक्तपुर, ललितपुर, कञ्चनपुर, काठमाडौं, कैलाली, रुपन्देही, बाँके र कपिलवस्तु छन् । यी जिल्लामा १० प्रतिशतभन्दा कम मानिस जिल्ला छाडेर अन्यन्त्र सरेको पाइएको छ ।

किन बढिरहेको छ बसाइँसराइ ?

कार्यालयका अनुसार २५.९ प्रतिशत मानिस आफन्तसँग आश्रित भएर  बसाइँ सर्ने गरेको पाइएको छ । विवाहपछि बसाइँ सर्नुपर्ने बाध्यतामा २४.९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । कामको अवसरका कारण १९.२ प्रतिशत, अध्ययन र तालिमका कारण १४.१ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिन्छ ।

प्रदेशगत विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसरका कारण धेरै मानिस बसाइँसराइ गरेको पाइएको छ । अन्य प्रदेशमा भने विवाह मुख्य कारण मानिएको छ ।

उमेर अनुसार हेर्दा चार वर्षमुनि र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएर, २० देखि २४ वर्षका महिला विवाहका कारण र ३५ देखि ३९ वर्ष उमेर समुहका धेरै मानिस कामका कारण बसाइँ सरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?