+
+
Shares

इन्टरनेट बजार हिस्सा ४० प्रतिशत पुर्‍याउने वर्ल्डलिंकको घोषणा

विद्यमान् ३३ प्रतिशतको बजार हिस्सा बढाएर ४० पुर्‍याउने लक्ष्य भेट्न वर्ल्डलिंकका ५ हजार कर्मचारी लागिपरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १९:१०

१२ चैत, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ‘इन्टरनेट सर्भिस प्रोभाइडर’ (आईएसपी) वर्ल्डलिंकले बजार हिस्सा बढाएर ४० प्रतिशत पुर्‍याउने लक्ष्य घोषणा गरेको छ ।

पछिल्लो आठ वर्षदेखि वर्ल्डलिंकले मुलुकको कुल इन्टरनेट प्रयोगकर्ताको ३३ प्रतिशत हिस्सा ओगट्दै आएको छ । यो भनेको आईएसपीहरूले उपलब्ध गराउने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या हो । हाल नेपालमा १ सयभन्दा बढी आईएसपी सञ्चालनमा छन् ।

तारबाट इन्टरनेट उपलब्ध गराउने कम्पनीको पहिलो स्थानमा रहेको वर्ल्डलिंक र ऊपछिको दोस्रो स्थानमा रहेको कम्पनीबीच धेरै ठूलो अन्तर छ । दोस्रो स्थानमा रहेको आईएसपीले ८ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।

वर्ल्डलिंकले केही दिनअघि इन्टरनेट ग्राहक संख्या १० लाख पुगेको र यसले कम्पनीप्रति ग्राहकको विश्वास झन् बलियो बनेको पुष्टि भएको जनाएको छ ।

‘१० लाख ग्राहक हुनु भनेको एउटा सुखद र गौरव गर्ने विषय हो,’ वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अनलाइनखबरसँग भने, ‘यो नेपालको इन्टरनेट क्षेत्रमा नै एउटा कोशेढुंगा हो । हामी अब बिस्तारै बजार हिस्सा बढाएर ४० प्रतिशत पुर्‍याउने लक्ष्य लिएर अगाडि बढेका छौं ।’

उनका अनुसार विद्यमान् ३३ प्रतिशतको बजार हिस्सा बढाएर ४० पुर्‍याउने लक्ष्य भेट्न वर्ल्डलिंकका ५ हजार कर्मचारी लागिपरेका छन् ।

हाल फिक्स्ड ब्रोडब्यान्डका ग्राहक ३० देखि ३५ लाख रहेको नेपालले बताए । यसको ३३ प्रतिशत हिस्सा वर्ल्डलिंकको भागमा छ ।

वार्षिक १२ अर्ब रुपैयाँ बराबर कारोबार गर्ने वर्ल्डलिंकले विद्यमान् बजार हिस्सा त्यति सहजै हात पारेको भने होइन । यसका लागि कम्पनीले २९ वर्ष लामो संघर्ष र मिहिनेत गरेको छ ।

‘हामी अहिले स्थापनाको २९ वर्षमा छौं तर हामीलाई १ लाख ग्राहक बनाउन २१ वर्ष लागेको थियो,’ सीईओ नेपाल भन्छन्, ‘तर, बाँकी ९ लाख ग्राहक हामीले पछिल्लो आठ वर्ष अर्थात् सन् २०१७ यता प्राप्त गरेका हौं ।’

वर्ल्डलिंकलाई एक नम्बरको आईएसपीमा टिकिरहन चुनौतीपूर्ण रहेको सीईओ नेपाल बताउँछन् । बजार प्रतिस्पर्धालाई उनी सहज तर चुनौतीले भरिपूर्ण भन्न रुचाउँछन् ।

‘हामीभन्दा पनि एकदमै मिहिनेती र ग्राहकको भावना बुझ्ने कम्पनी आयो भने बजार हिस्सा खोस्न सक्छ, यसलाई हामीले अन्यथा लिँदैनौं,’ उनले भने, ‘जसले बढी मिहिने गर्छ, उसले बजार लिन्छ । यो सेवा उद्योग भएकाले स्थापित हुन पनि गाह्रो छ र टिक्न पनि त्यत्तिकै गाह्रो छ ।’

उनका अनुसार पछिल्लो तीन–चार वर्षदेखि वर्ल्डलिंकको बजार हिस्सा ३३ प्रतिशतमा अडेको छ । दोस्रो स्थानमा रहेको कम्पनीको दाँजोमा यो चार गुणा बढी भए पनि यसमा टिक्दै ४० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको हो ।

हाल वर्ल्डलिंकले वार्षिक डेढ लाख हाराहारी ग्राहक थप्दै गएको छ । यो भनेको मासिक औसत १२ हजारभन्दा बढी हुन्छ । यही संख्यालाई निरन्तरता दिने गरी कम्पनीले गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता दिने गरेको सीईओ नेपाल बताउँछन् ।

वर्ल्डलिंकले ग्राहक सेवाका लागि बिहान ७ देखि राति ७ बजेसम्म कर्मचारी खटाउने गरेको छ । राति ७ बजेभन्दा पछि भने प्राविधिक कारण कर्मचारीलाई फिल्डमा खटाउन नसकिएको उनले बताए ।

‘अधिकांश इन्टरनेट सम्बन्धी समस्या सडकमा रहेका खम्बा (पोल) मा हुने गर्छ,’ सीईओ नेपालले भने, ‘राति खम्बामा चढेर मर्मत गर्दा हाम्रा प्राविधिक कर्मचारीलाई करेन्ट लाग्न सक्ने वा कुनै दुर्घटना हुन सक्ने सम्भावना रहन्छ ।’

७५ जिल्ला पुग्यो वर्ल्डलिंक

वर्ल्डलिंकले आफ्नो सेवा हाल ७५ जिल्लामा पुर्‍याइसकेको छ । अब मनाङ र मुस्ताङमा मात्र इन्टरनेट पुर्‍याउन बाँकी छ । गत वर्ष नै पहाडका १५ जिल्लामा इन्टरनेट पुर्‍याएको थियो ।

‘वर्ल्डलिंकको शुल्क महँगो होइन’

वर्ल्डलिंकको इन्टरनेट शुल्क महँगो नभएको सीईओ नेपालको दाबी छ । ‘हाम्रो शुल्क महँगो होइन,’ उनी भन्छन्, ‘हामीले प्रतिग्राहक प्रतिमहिना औसत १ हजार रुपैयाँ आम्दानी गर्छाैं । महिनाको १ हजार रुपैयाँलाई महँगो मान्ने कि नमान्ने भन्ने कुरा हो ।’

उनका अनुसार १ हजार रुपैयाँ औसत शुल्क भनेको परिवारका सबैको भागमा हिसाब हुन्छ । चार जनाको परिवार छ भने एउटाको भागमा साढे २ सय रुपैयाँ पर्छ । त्यही भएर यति शुल्कलाई महँगो होइन भन्ने हाम्रो बुझाइ हो ।

‘अहिले त मोबाइलबाट भ्वाइस कल गर्ने एकदमै कम हुन्छन्,’ नेपालले भने, ‘इन्टरनेट भएपछि परिवारका सदस्यले ह्वाट्स एप, फेसबुक मेसेन्जर, भाइबर लगायतमा कल गरेर कुराकानी गर्छन् ।’

वर्ल्डलिंकमा फिन फन्डले गर्‍यो करिब डेढ अर्ब लगानी

वर्ल्डलिंकमा पछिल्लो पटक वैदेशिक विकास कोषहहरूले पनि लगानी गरिरहेका छन् । हालै फिनल्यानडको ‘फिन फन्ड’ ले वर्ल्डलिंकमा १ करोड युरो अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ बराबर लगानी गरेको छ ।

यसखालको विदेशी लगानी प्राप्त गर्न धेरै नै गाह्रो हुने सीईओ नेपालले बताए । कम्पनीको सुशासन, साखदेखि कर चुक्तासम्मको सम्पूर्ण अध्ययन गरेपछि मात्र विदेशी लगानी आउन सक्ने उनको भनाइ छ ।

‘विदेशीले लगानी गरेपछि कुनै पनि कम्पनीको साख रहेछ भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘स्थानीय बैंकहरूले पनि ऋण पत्याउँछन् । हाल थपिएको विदेशी लगानीलाई कम्पनीको विस्तार र विकासमा उपयोग गर्छौं ।’

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?