
१२ चैत, काठमाडौं । वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन लक्ष्यसहित ‘काठमाडौं टेक्निकल स्कुल’ खुलेको छ ।
आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्ति माग पूरा गर्ने उद्देश्यले यस्तो स्कुल खोलेको जानकारी गराएका छन् ।
मंगलबार काठमाडौं धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कुलमा आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्कुल शुभारम्भ गरे ।
स्कुलले हस्पिटालिटी, कलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्टा, बार टेन्डर लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने भएको छ ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनल उत्पादन गर्ने लक्ष्य लिएको कार्यक्रममा जानकारी दिइयो । आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङ लगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजना सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुप अन्तर्गतका कम्पनीमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ । आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटनमा मन्त्री भण्डारीले सिप, रोजगारी, उद्यमशीलता र पूँजी संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए । उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले सिप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए । स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सिप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुप अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए ।
उनले यस स्कुलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्र स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी तथा युवाशक्ति पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सिप विकास नै यसको समाधान रहेको बताए ।
स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा यो स्कुलबाट सहयोग पुग्ने बताए ।
प्रतिक्रिया 4