
१३ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो ।
तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।
‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा लेखिएको छ ।
निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।
(* त्रिचन्द्रको स्ववियु निर्वाचन चैत १३ गते हुने भनेर समाचार भूलबस प्रकाशित भएकाले क्षमाप्रार्थी छौं । चैत १३ गते तोकिएको निर्वाचन फेरि पनि स्थगित भएकाले यसअघि प्रकाशित समाचार हटाइएको छ । – सं.)
प्रतिक्रिया 4