+
+
Shares

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १०:३५

१३ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।

सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ ।

बैठकपछि रास्वपा नेता परियारले भने– ‘देशको सेवा गरिरहेको काबिल कर्मचारीलाई, जुन शक्ति प्रयोग गरेर सेवाबाट हटाउने सरकारले निर्णय गर्‍यो, त्यसको विरुद्धमा सडकमा पनि आवाज उठेको छ, आज हामी सदनमा पनि त्यस निर्णयका विरुद्ध, सरकारका विरुद्ध, सरकारले पछिल्लो समयमा गरेका सबै विकृति र विसंगति काफी छन्, त्यसका विरुद्ध आवाज उठाउने कुरा भयो ।’

आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?