
मुम्बई । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एकनाथ शिन्देको प्यारोडी गीत बनाएको भन्दै कमेडियन कुणाल कामरालाई लगातार ज्यान मार्ने धम्की आइरहेको छ । स्रोतका अनुसार कामरालाई कम्तिमा ५०० पटक ज्यान मार्ने धम्की आएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रहरीले कामरालाई बयानका लागि उपस्थित हुन भनेको छ । उनलाई सोधपुछका लागि बिहान ११ बजे खार प्रहरी चौकीमा बोलाइएको थियो । कामराका वकिलले ७ दिनको समय मागेका थिए तर प्रहरीले तत्कालै उपस्थित भनेको छ ।
बुधबार, खार पुलिसले बीएनएसको धारा ३५ अन्तर्गत कामरालाई दोस्रो पटक उपस्थित हुन बोलाउनेछ । कामरा अहिले मुम्बई बाहिर छन् । ३६ वर्षीय स्ट्यान्डअप कमेडियनले आफ्नो शोमा उपमुख्यमन्त्री शिन्देको राजनीतिक करियरको बारेमा खोट लगाएका थिए । कामराले फिल्म ‘दिल तो पागल है’ को एउटा गीतको प्यारोडी गरेका थिए, जसमा शिन्देलाई देशद्रोही भनिएको थियो ।
कामराले गत मार्च २५ मा सामाजिक सञ्जालमा अर्को नयाँ प्यारोडी गीत पोस्ट गरेका थिए । उनले ‘हम होंगे कामयाब’ को लाइन परिवर्तन गरेर ‘हम होंगे कंगाल एक दिन’ बनाएका थिए ।
स्ट्यान्डअप कमेडियन कामराविरुद्ध मार्च २४ मा एफआईआर दर्ता गरिएको थियो । महाराष्ट्रका गृहराज्यमन्त्री योगेश कदमले विधानसभामा भने, ‘हास्य कलाकार कुणाल कामराको कल रेकर्डिङ, सीडीआर र बैंक स्टेटमेन्ट पनि छानबिन गरिने छ । यसको पछाडी को छ भन्ने पत्ता लगाउने छौँ ।’
बुधबार बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी)को टोलीले युनिकन्टिनेन्टल होटलमा कारबाही गरेको छ । शिव सेना (शिन्दे) का कार्यकर्ताले यो प्यारोडीलाई महाराष्ट्रका उपमुख्यमन्त्री शिन्देमाथि आपत्तिजनक टिप्पणीको रूपमा लिए र आइतवार राती युनिकन्टिनेन्टल होटलमा तोडफोड गरे । कुल ४० शिवसैनिक विरुद्ध एफआईआर दर्ता गरिएको थियो ।
कमेडीको नाममा मानिसको अपमान हुनुहुँदैन : कंगना
अभिनेत्री-सांसद कंगना रनौतले हाँस्यकलाकार कुणाल कामरासँगको विवादमा धारणा राखेकी छिन् । कंगनाले कामराको आलोचना गर्दै कमेडीले मानिसको अपमान गर्न नहुने बताइन् । क्षणिक प्रसिद्धिको लागि पवित्र पुस्तकको खिल्ली उडाउनु हुँदैन वा मानिसको उपलब्धिलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ ।
एएनआईसँग कुरा गर्दै उनले भनिन्, ‘कसैको अपमान गर्नु ठीक होइन । तपाईं कमेडीको नाममा कसैको कामको अपमान गर्दै हुनुहुन्छ । शिन्दे जीले धेरै पहिले रिक्सा चलाउने गर्थे र आफैले धेरै हासिल गरेका छन् । उनकोे (कुणाल कामरा) अवस्था के छ ? तिनीहरू को हुन् ? कमेडीको नाममा गाली गर्छन् । तिनीहरूले हाम्रा पवित्र पुस्तकको खिल्ली उडाउँछन्, मानिसको खिल्ली उडाउँछन् । यी मानिसले आफूलाई प्रभावकारी भन्छन् । दुई मिनेटको नाममा हाम्रो समाज कता जाँदैछ भनेर सोच्नुपर्छ ।’
प्रतिक्रिया 4