+

‘कर्णाली याक्स अझ बलियो बनेर आउनेछ’

२०८१ चैत  १३ गते १७:१३ २०८१ चैत १३ गते १७:१३
‘कर्णाली याक्स अझ बलियो बनेर आउनेछ’

१३ चैत, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले दोस्रो संस्करणमा टिम अझ बलियो बनेर आउने जनाएको छ । कर्णाली याक्सले बुधबार एक विज्ञप्ति जारी गर्दै पहिलो सिजन टिमको प्रदर्शन उच्च स्तरको रहेको र कर्णालीवासीको गौरव समेत बढाएको जनाएको छ ।

‘कर्णाली याक्स पहिलो संस्करणमा एक महत्वपूर्ण हिस्सा थियो । पहिलो एनपीएलको भव्य सफलतामा एक फ्रेन्चाइज टिमका रूपमा हाम्रो योगदान विशेष रह्यो भन्ने कुरा सबैलाई अवगत छ’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय स्टार शिखर धवनजस्ता खेलाडी ल्याएर कर्णालीले क्रिकेटमा योदान सहित खेल पर्यटनमा समेत प्रवर्द्धन गरेको जनाएको छ । ‘कर्णाली याक्सले एक प्रदेशको प्रतिनिधित्व गर्ने क्रममा भारतीय राष्ट्रिय टोलीका विश्व च्याम्पियन ओपनर शिखर धवनलाई अनुबन्ध गर्दै केवल नेपाली क्रिकेटमा मात्र योगदान गरेन, देशको खेल पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण प्रभाव पार्‍यो । धवनजस्ता खेलाडीलाई नेपाल ल्याउनु हाम्रो लागि गर्वको विषय रह्यो।’

यस्तै कर्णाली याक्सले पहिलो सिजन फाइनल पुग्न नसकेपनि राम्रो खेलेको र दोस्रो संस्करणमा अझ बलियो हुने जनाएको छ । ‘प्रतिस्पर्धात्मक रूपमा पनि हाम्रो टिमको प्रदर्शन उच्चस्तरको रह्यो । यद्यपि, हामी उपाधि जित्न र फाइनल खेल्न सकेनौं, तर त्यति भव्य लिगको प्लेअफसम्म पुगेर सम्पूर्ण कर्णालीवासीको गौरव बढाउन सफल भयौं’ विज्ञप्तिमा भनिएको छ, ‘पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो । समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ ।’

कर्णाली याक्सलाई बलियो बनाउन लागिरहेको र यस बारे केही भ्रामक समाचार आएको भन्दै प्रेस विज्ञप्तिमार्फत आफ्नो भनाई राख्नुपरेको कर्णाली याक्सले जनाएको छ । ‘हाम्रो टिमबारे बिना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना, र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ’ विज्ञप्तिमा भनिएको छ । यस्ता भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं ।’

पहिलो सिजन सोमपाल कामीको कप्तानीमा कर्णालीले एनपीएलमा प्रतिस्पर्धा गरेको थियो । मुख्य प्रशिक्षक तथा क्रिकेट निर्देशकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल थिए ।

कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय