+

लोकेशको कीर्तिमानी ब्याटिङमा एपीएफले कोशीलाई हरायो

२०८१ चैत  १३ गते १६:१५ २०८१ चैत १३ गते १६:१५
लोकेशको कीर्तिमानी ब्याटिङमा एपीएफले कोशीलाई हरायो

१३ चैत, काठमाडौं । लोकेश बमले कीर्तिमानी ब्याटिङ गर्दै अविजित ८४ रन बनाएपछि एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जितसहित फाइनल सम्भावना कायमै राखेको छ ।

बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २ विकेटले हराएको हो । कोशीले दिएको २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लोकेशले आठौं नम्बरमा ब्याटिङ गर्दै ८४ रन बनाएका हुन् र यो यस पोजिसनमा सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०१७ मा पश्चिमाञ्चलबाट सौरभ खनालले ८२ रन बनाएका थिए ।

कप्तान रोहित पौडेलले ६१ रन बनाए । १६४ रनमा ८ विकेट गुमेपछि लोकेशले इर्शाद अहमदसँग मिलेर ९४ रनको साझेदारी गरेका थिए । यो पीएम कपमा नवौं विकेटका लागि भएको उच्च साझेदारी पनि हो ।

दीपक बोहराले ३६ तथा सन्दीप जोराले ३० रन बनाए ।

कोशीका फिर्दोश अन्सारी र दिपेश कँडेलले ३-३ विकेट लिए  । ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइटेलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरमा अलआउट हुँदै २५४ रन बनाएको थियो । शाकिब हकले ६८ तथा कप्तान अंकित सुवेदीले ३५ रन बनाए । आइश भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।

एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३-३ विकेट लिए भने रोहित पौडेलले २, इर्शाद अहमद र अमरसिंह राउटेलाले १-१ विकेट लिए ।

यस जितसँगै एपीएफको ९ खेलमा १४ अंक भएको छ र तेस्रो स्थानमा छ । दोस्रो स्थानको आर्मीको ८ खेलमा १४ अंक नै छ तर नेटरनरेटमा अगाडि छ ।

अब भोलि हुने खेलमा आर्मी पुलिससँग फराकिलो अन्तरले पराजित भएमा मात्र एपीएफको फाइनल यात्रा तय हुन सक्छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय