
नेपाली कांग्रेसका नेता एनपी साउद पछिल्लो समय संस्थापनइतरका नेता डा.शेखर कोइरालासँग नजिकिएको चर्चा पार्टीभित्र छ । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार हुने आकांक्षा राखेपनि पनि प्रत्यासी बन्न पाएनन् । सभापतिमा फेरि प्रतिस्पर्धा गर्न नपाउने भएसँगै लामो समयसम्म देउवासँग रहेका साउद समूह परिवर्तन गरेको संकेत गरेका छन् ।
डा.शेखरसँग जोडिएको विचार सार्वजनिक रुपमा उनले बताउन हिच्किचाए पनि कोइरालाको कित्तामा पुगिसकेको नेताहरु दाबी गर्छन् । डा. कोइराला पक्षले राख्ने गरेका कार्यक्रममा साउदलाई प्राथमिकतामा राखेर आमन्त्रण गर्न थालिएको छ । र, साउद उपस्थित पनि हुँदै आएका छन् ।
नेता साउदको समूह परिवर्तनको चर्चा, सरकारको प्रभावकारिता, पार्टीको आन्तरिक जीवन लगायतमा रहेर उनीसँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः
नेपाली कांग्रेस र नेकपा एमाले सत्ताका प्रमुख साझेदार रहेर सरकार गठन भएको आठ महिना भएको छ । दुई प्रमुख दल मिलेर बनेको यो सरकारको गतिसँग तपाई सन्तुष्ट हुनुहुन्छ ?
दुई ठूला दल मिलेर सरकार बनिसकेपछि स्थिरता, शान्ति, सुशासन आउँछ भन्ने अपेक्षा नागरिकमा थियो । संविधान बनेको १० वर्ष भएको हुँदा आवश्यक सुधार हुने अपेक्षा लिइरहेको अवस्था थियो ।
संविधान संशोधनको प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर संविधान संशोधनका एजेण्डाहरु प्रस्तुत गर्नुपर्ने थियो, प्रस्तुत हुन सरकारले सकेन । जनतालाई राहतका लागि सुशासनको अनुभूति दिने गरेर सरकार अघि बढ्नु पर्ने थियो । आर्थिक परियोजना मार्फत स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारले वातावरण बनाउन सक्नुपर्ने थियो ।
महँगी नियन्त्रण, वेरोजगारीको समस्या उस्तै छ । शिक्षा स्वास्थ्यमा छोटो समयमा धेरै काम गर्न नसकिएपनि केही न केही देखिने गरि अलिकति सुधार गर्न सकेको भए राम्रो हुने थियो । जनताको प्रस्तुतीकरण जनताले अपेक्षा गरे अनुसार हुन सकेन ।
संसदका दुई ठूला दलहरु मिलेर सरकार बनाउँदा समेत न संविधान संशोधन हुने, न सुशासन हुने, न देशको विकासले गति लिन सक्यो । संसदभित्र वैकल्पिक सरकार गठन गर्नपनि निषेध गरे जस्तो गरेर दुई तिहाइको गठबन्धन हुँदा मान्छेमा एक किसिमको निराशा आएको छ । त्यही निराशालाई आधार बनाएर विभिन्न शक्तिहरु सल्बलाइरहेका छन् ।
संख्यामा सुविधाजनक अवस्थामा सरकार रहेपनि डेलिभरीमा त्यो अनुसार हुन सकेन । सरकार गठन हुँदा बनेको सात बुँदे सहमति, दुई दलका घोषणापत्र समातेर सरकार अघि बढ्नु पर्ने थियो । जनतालाई राहत दिन हामी कहिं न कहिं हामी चुकेका छौं । यसैको परिणाम जनता संविधान र हाम्रो विरुद्धमा सडकमा आएका छन् ।
उनीहरुले उठाएको व्यवस्था परिवर्र्तन सम्भव छैन । तर, आएका नागरिकलाई नजर अन्दाज गर्न हुँदैन । उनीहरुको प्रदर्शनले राष्ट्रिय अन्तराष्ट्रिय सन्देश समेत प्रवाहित गरेको छ ।
कांग्रेस संसदको सबै भन्दा ठूलो दल भएर पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सकेको छैन । तर, अरु दलको नेतृत्वमा सरकार बनाउँदा भने सहयोगी हुँदै आएको छ । तपाईंहरुले साथ दिएर बनेको यो सरकारले सुधारका केही काम गरेकै छैन भन्नुहुन्छ । सरकारको प्रभावकारीता छैन, अपजस त तपाईंहरुलाई पनि जान्छ नि ?
कांग्रेसको स्पेस खुम्चिरहेको छ । एमाले र कांग्रेस मिल्दै गर्दा एकातर्फ बामपन्थी शक्तिहरुमा ह्रास आइरहेको छ । वामपन्थी शक्तिमा आएको ह्रासले गर्दा आफ्नै बुताले निर्वाचन लड्छन् भन्न सकिने अवस्था छैन । यदि तिनिहरु आफ्नै क्षमतामा निर्वाचनमा लड्न सकेनन् भने या त तिनिहरु गलेर जान्छन् । या, एमालेसँग मिलेर आउँछन् ।
ती दलहरु कमजोर हुने अवस्था बन्यो भने कम्युनिष्ट ध्रुवीकरण बढ्छ । भोट एमालेतिर ट्रान्सफर हुने परिस्थिति बन्छ । मिले भने त स्वभाविक रुपमा नै भोट आउने भइ नै हाल्यो । यस्तो हुँदा एमालेको स्पेस बढ्छ । अहिलेको गठबन्धनबाट दक्षिणपन्थी स्पेस पनि बढेको छ । पुनरुत्थानवादी शक्तिहरु फैलावटमा छन् । मोहन वैद्य, विप्लवहरुको भनाई हेरियो भने कहिं न कहिं उनीहरुले दक्षिणपन्थीलाई सहयोग पुर्याएको जस्तो देखिन्छ ।
बामपन्थी शक्तिहरु विस्तार हुने र दक्षिणपन्थी शक्तिहरु मिल्दै जाने हो भने मध्यमार्गी दल कांग्रेसको स्पेस घट्छ ।
एमालेसँगको सरकारबाट तपाईं सन्तुष्ट देखिनुहुन्न । विकल्पमा जानुपर्छ भन्ने तपाईंको विचार हो ?
संख्याले यो सरकार दुई तिहाइको सरकार हो । यो सरकारले दिनसक्ने स्थीरता भनेको सरकारकै स्थीरता हो । तर, सरकारले स्थीर भएको सन्देश दिन सकेको छैन । संविधान समेत अस्थीर भइरहेको अनुभव चारैतिर भइरहेको छ । एमालेले पार्टी निर्णय गरेर संविधानको पक्षमा जागरण अभियान गर्ने भनेको छ । कांग्रेस केन्द्रीय समिति राखेर संविधानसँग प्रतिवद्ध रहेको भन्ने अवस्था आयो ।
यसले के देखाउँछ भने सरकार त टाढाको कुरा भयो । संविधानलाई समेत संस्थागत र बलियो बनाउन हामीले सकेनौं । कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा यही संसदबाट अर्को सरकार बनाउने विकल्प पनि कमजोर भएको छ ।
यो सरकार गठन हुने वित्तिकै शेयर बजार बढेको थियो । आशा विश्वास जस्तो देखिएको थियो । अहिले ओरालो लाग्दै गएको छ । शेयर बजार बढ्दा अर्थतन्त्रले लय समातेको भनिँदै आएको थियो । अर्थतन्त्रको त गला अवरुद्ध भएजस्तो छ । रुग्ण अवस्थामा जाने बेला भइसक्यो ।
निराशा बढ्दै जाँदा उग्र शक्तिहरु सल्बलाइरहेका छन् । संविधान जोखिममा पर्ने सम्भावना बढेर गएको छ ।
दुई दलको सरकार हुँदा सुधारका कार्य गर्दै जनताको निराशामा हटाउनुपर्नेमा एक पछि अर्को गलत निर्णय गर्न कांग्रेस एमाले उद्धत रहेको टिप्पणी हुँदै आएको छ । जन अपेक्षा अनुसार कार्य नहुने र गलत निर्णयहरु हुँदै जाने तर तपाईंहरुले काँध थापिरहने भइराख्ने भयो । होइन ?
एमालेसँगको सत्ता सहकार्यमा गढवढ नहोस् भन्नेमा कांग्रेस दृढ भएको देखिन्छ । कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बेलासम्म वातावरण विग्रन नदिन कांग्रेस लागेको देखिन्छ । दुई दलमा भएको सहमति अनुसार कांग्रेसले सरकार बनाउन अझै १६ महिना बाँकी छ ।
यो १६ महिनामा बागमतीमा कति पानी बग्ने हो, थाहा छैन । ओली जीले सहमति अनुसार सत्ता हस्तान्तरण गर्लान् भन्ने अपेक्षाले मात्रै अहिले कामहरु भइरहेका छन् ।
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाउँदा देश नै तरंगित बनेको छ । कांग्रेसका नेताहरु नै सरकारी निर्णयको विपक्षमा देखिन्छन् । सरकारले निर्णय लिन यो उपयुक्त समय थियो ?
सरकारले नियुक्त गरेको व्यक्तिलाई हटाउन सक्दैन भन्ने कुरो त हुँदैन । अमेरिका, युरोप हेरौं, सरकार परिवर्तन भएपछि आफू अनुकूलको कर्मचारी राख्ने काम हुन्छन् । कुलमान जीले विद्युत् प्राधिकरणमा सुधारका कार्यहरु गरेको पनि देखिन्छ ।
सरकारले नियुक्त गरेको व्यक्तिसँग, मन्त्री, प्रधानमन्त्रीसँग ट्युनिङ मिल्नुपर्दछ । मिलेर कार्य गर्नु राज्यव्यवस्थाले नै माग गर्दछ । मिल्न नसके प्रशासनिक अराजकता निम्तिन्छ । उद्योगीहरुको विद्युत् महशुल प्रति सकरात्मक हुन प्रधानमन्त्रीले सुरुकै दिन देखि भनिरहनु भएको थियो । केही कुरामा कार्यशैली मिलिराखेको थिएन ।
सरकारले चार महिना पर्खेको भएपनि हुने थियो । कुलमान जीले मैले गर्ने कामहरु गरिसकेको छु भनेर चित्त बुझाएपनि हुन्छ । सरकारलाई कर्मचारी हटाउन र राख्ने अधिकार छ । यो नै अन्तिम र प्रमुख एजेण्डा बनिराख्न उपयुक्त छैन । चार महिना पछि त उहाँ जानु नै हुने थियो । नयाँ मान्छे आउने नै थिए ।
कुलमान जीको व्यवहारले मन्त्रालयले असजिलो महशुस गरिरहे जस्तो देखिएको थियो ।
कांग्रेसभित्रको आन्तरिक पाटोको कुरा गरौं । पार्टीका संरचना, भ्रातृ संस्थाको अवस्था देख्दा पार्टी ठिकै तरिकाले चलेको जस्तो तपाईंलाई लाग्छ ?
पार्टी यसरी नै लामो समयदेखि चलिरहेको छ । यस्तो हुँदा पार्टी कमजोर भइराखेको छ । यसैगरि पार्टी लामो समयसम्म चल्न सक्दैन । पार्टीका आफ्ना अवयव, संरचना यद्यावधिक र गतिशिल हुन जरुरी छ । पार्टीका नीति कार्यक्रम संरचना मार्फत हुनु जरुरी छ ।
पार्टीका भ्रातृ संस्थाहरुलाई हेर्नुपर्ने अवस्था छ । केही भ्रातृ संस्थाहरु अधिवेशन अहिले नै गर्न सक्ने अवस्थामा छैनन् । अधिवेशन गरेका भ्रातृ संस्थाले विवादित बनेर पार्टीलाई समेत जोडिएको छ । पार्टी नै त्यो विवादमा सहभागी भए जस्तो देखियो । भ्रातृ संस्थाका अधिवेशन गराउन बनाइएको निर्देशक समितिमा समेत एकरुपता हुन सकेन ।
अधिवेशन विवादित हुँदा पार्टीको छबि राम्रो भएको छैन । विवाद देखिएका छन् भने समाधान गरेर अधिवेशन गरेको भए राम्रो हुने थियो । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ जस्ता भ्रातृ संस्थाको अधिवशेन गराउन झन जटिल छ । कांग्रेस आफ्ना भ्रातृ संस्थाको अधिवेशन समेत गराउन सक्दैन भन्ने सन्देश गइराखेको छ । त्यसको प्रतिउत्तर अधिवेशन गराएरै दिनुपर्दछ । तर, यस्तै अवस्था मुख्य भ्रातृ संस्थाको अधिवेशन हुनसक्ला जस्तो मलाई लागेको छैन ।
पार्टी गतिशील भएको देखिने संरचनाहरुको नियमित बैठक, अधिवेशन लगायतले हुन्छ । यस्तै गतिले पार्टी क्रियाशील भइराखे महाधिवेशन नियमित समयमा हुने देख्नुहुन्छ ?
कांग्रेस लोकतान्त्रिक दल हो । आवधिक प्रजातान्त्रिक अभ्यास संस्कारमा बसेको छ । प्रजातान्त्रिक अभ्यासलाई चुनौती दिने सोंच राख्नु हुँदैन । यो दलमा लाग्ुनको कारण नै लोकतान्त्रिक अभ्यासलाई जीवन पद्धति बनाउनका लागि हो । कांग्रेसमा स्वैच्छिक रुपमा व्यक्तिहरु संगठित भएका छन् ।
पार्टीमा आवद्ध सबैलाई गोरेटो देखाउने हाम्रो पार्टीको विधान हो । विधानले चार वर्षमा महाअधिवेशन गर्न समय सीमा दिएको छ । केही परिस्थितिले हुन सकेन भने एक वर्षसम्म समय थप्न प्रवन्ध गरेको छ । त्यो व्यवस्थाको अवमूल्यन गर्यौं भने वैधानिक संरचना टुट्न सक्ने जोखिम रहन्छ । देशको मूल कानुनले नै अधिवशेन साढे पाँच वर्षभित्र गर भनेको छ । त्यो भन्दा अन्यथा सोचियो भने त्यसले पार्टीलाई कमजोर बनाउँछ । क्षयीकरणमा लैजान्छ, अनावश्यक विवाद सिर्जना गर्दछ ।
महाधिवेशन कहिले हुन अनिश्चित छ । तर, कतिपय नेताहरुलाई महाधिवेशन लागिसके जस्तो देखिन्छ । तपाईंलाई महाधिवेशन लागेको छ कि छैन ?
म सरकारमा छैन । पार्टीको पदाधिकारी पनि छैन । संसद लागेको बेला सदनमा हुन्छु । अरु बेला आफ्नो निर्वाचन र देशभरी घुम्ने गरेको छु ।
महाधिवेशनको मिति तोक्नै बाँकी रहेकाले मेरो पोजिसन अहिले सार्वजनिक गरिसकेको छैन । पार्टीका नेता, कार्यकर्ताहरुसँग सरसल्लाह गरेर उपयुक्त समयमा निर्णय लिन्छु । अहिले जिल्ला भ्रमणका क्रममा कार्यकर्ताको विचार, हाम्रो र अरु पार्टीको अवस्था जानकारी लिएको छु ।
पार्टीलाई बलियो बनाउन, पार्टीका साथीहरुको मनोबल बढाउन, झगडा, विवादलाई मिलाएर एकतामा राख्न कामका लागि म हिडिरहेको छु । यी कुराहरुको गहिरो अध्ययन गरिरहेको छु र कार्यकर्ताको सम्पर्कमा छु ।
तपाईं नेता कार्यकर्ताकहाँ पुग्दा र सार्वजकि मञ्चमा देखिँदै गर्दा डा.शेखर कोइराला निकट रहेर अघि बढिरहनु भएको बुझाई छ । सत्य हो ?
पार्टीका संरचनाहरु साथै भ्रातृ संस्थाहरुले कार्यक्रमका लागि बोलाउँछन् । त्यो बेला यो र त्यो समूहले बोलाएको भनि समूह हेर्नुपर्दछ जस्तो मलाई लाग्दैन ।
म लामो समयदेखि शेरबहादुर देउवा जीसँग मिलेर काम गरेको छु । विधानले सभापति दुईपटक भन्दा बढी हुन नपाउने अवस्था छ । सभापतिका लागि उहाँले अन्तिमपटक लागि गत महाधिवेशनमा लडिसक्नु भएको छ । को को प्रतिस्पर्धा गर्छन् भन्ने स्पष्ट देखिइसकेको पनि छैन ।
अघिल्लोपटक शेरबहादुर देउवाजीसँग महाधिवेशनमा शेखर कोइराला जीले प्रतिस्पर्धा गर्नु भएको थियो । फेरि लड्ने भनिरहनु भएको पनि छ । अरु नेताहरुले पनि भन्नु भएको छ । यसलाई अन्यथा लिनुपर्ने छैन ।
सबैले बोलाएको ठाउँमा जाने गरेको छु । एउटै पार्टीमा स्वभाविक पनि हो । एउटै पार्टीभित्र छौंं । विचार आउँछन्, बहस हुन्छ । त्यसलाई अन्यथा लिनुपर्ने जस्तो मलाई लाग्दैन ।
तर, एउटा समूहको कार्यक्रम भयो भने अर्को समूहबाट उपस्थित नहुने प्रवृत्ति कांग्रेसमा छ नि ?
म त बोलाएको ठाउँमा जाने गरेको छु ।
डा.शेखरसँग नजिक हुँदै गएको त हो नि ?
नजिक त नजिक छौं नि । हामी एउटै पार्टीमा छौं, एउटै घर हो ।
डा.शेखरसँग मिलेरै अर्को महाधिवेशनमा प्रतिस्पर्धा गर्नुहुन्छ भन्ने बुझाई सत्य हो नि ?
त्यसका लागि त समय आउन बाँकी छ नि । अहिले त महाधिवेशनको समय तोकिएको छैन । मिति तोकिएपछि नेताहरुले वीचमा छलफल गर्छौं । जबसम्म महाधिवेशनको तिथिमिति तोकिन्न । मिति नतोक्दै आफ्नो पोजिसन कसैले पनि भन्ने अवस्था छैन ।
पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन गरौं भन्ने पक्षमा छु ।
तपाई डा. शेखरसँग मिलिसकेको भनि आएको कुरा हावा चलेर पात हल्लेको होला नि ?
विभिन्न कुराहरु आइरहेका छन् । प्रतिक्रिया तत्कालै दिनुपर्दछ भन्ने पनि छैन ।
सत्य होइन भनि तपाईले स्पष्ट गर्नुपर्ने होइन र ?
कसैको अपेक्षा, कसैको अनुमान हुन्छ । कसैका सूचनाहरु पनि होलान् । प्रतिक्रिया दिइ हाल्नुपर्छ भन्ने पनि होइन ।
डा. शेखर निकटका नेताहरु एनपी साउद हाम्रो पक्षमा आइसकेको भनेर दाबी गर्नुहुन्छ । तपाई आफू चाहिं सत्य/असत्य यस्तो हो भनेर किन मुख नखोल्नु भएको ?
एकै पार्टीमा छौं । बोलाएको कार्यक्रममा जाने गरेको छु । महाधिवेशनको मिति तोक्न बाँकी रहेकाले वैयक्तिक ध्रुवीकरण बनिसकेको छैन ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4