+

पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

२०८१ चैत  १३ गते १९:२८ २०८१ चैत १३ गते १९:२८
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

१३ चैत, काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।

पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि दुरीमा दौड हुनेछ ।

खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिनेछ ।

पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिन लागेको समाजका अध्यक्ष टीकाराम तामाङले बताए ।

सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र चर्चित कलाकार रामहरि भण्डारी, मिना लामा, रामेश्वर भण्डारीलगायतको साथमा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

सहभागी हुन चाहनेका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी गराए । उनका अनुसार चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट समेत फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ ।

फाराम शुल्क खुलातर्फ ५ सय र छात्रछात्राले ३ सय रुपैयाँ तिर्नुपर्नेछ । सहभागीलाई निःशुल्क टिसर्ट र खानाको व्यवस्था गरिनेछ ।

गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए ।

पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय