+
+
Shares

रोकियो सगरमाथा सफाइ

सर्वोच्च अदालतले सगरमाथाको सरसफाइलाई प्राथमिकता दिएर बजेट छुट्टयाउन सरकारलाई आदेश दिएकै वर्ष नेपाली सेनाको नेतृत्वमा चलिरहेको नियमित अभियान नै रोकिएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ चैत १३ गते २१:१८

१३ चैत, काठमाडौं । नेपाली सेनाले पर्यावरण संरक्षणका लागि भन्दै वन तथा वातावरण मन्त्रालयको समन्वयमा वर्षेनि हिमाल सरसफाइ अभियान चलाउँदै आएको थियो ।

तर, यसपालि आरोहणको सिजन सुरु भइसक्दा सरसफाइ अभियानको कुनै सुरसार छैन ।

सिजनको पहिलो आरोहणका लागि अहिले शेर्पाहरूले बाटो बनाउने कामलाई तिव्रता दिइरहेका छन् । तर, सरसफाइ अभियानका लागि कुनै पूर्वतयारी थालिएको छैन ।

सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, सगरमाथा सरसफाइ अभियानका लागि सरकारले यसपालि बजेट नछुट्याउँदा यो वर्षको कार्यक्रम अनिश्चित बनेको हो ।

‘बजेट नछुट्टिएर यसको तयारी थाल्न ढिलाई भएको थियो, पछि बजेटको व्यवस्थापन हुने भन्ने सुनेको थिएँ’, केसीले अनलाइनखबरसँग भने, ‘तर, वन मन्त्रालयमार्फत् आउने बजेट नभएपछि अभियान रोकियो भन्ने सुनेको छु ।’

विगतमा सरकारले सगरमाथा सरसफाइ अभियानका लागि कम्तिमा ८ करोड रुपैयाँ बजेट विनियोजन गर्ने गरेको थियो । त्यसमा दातृ निकाय र अन्य सरोकारवालासँग सहयोग लिएर हिमालका फोहोर संकलन गरेर ल्याउने गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्ले चाहिँ हिमाल सरसफाइका लागि ठूलो रकम चाहिने भएकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् ।

‘मन्त्रालयमा बजेट छुट्टिएपछि नेपाली सेनाले आफ्नो जनशक्ति र अरु विभिन्न निकायहरूसँग समेत समन्वय गरेर सरसफाइ गर्दै आएको थियो’, उनले भने, ‘यो एकदमै खर्चिलो काम हो, सबै कुराको मूल्य बढिरहेको छ, तर बजेट घट्दो क्रममा छ । त्यसैले कठिनाइ भएको हो ।’

सर्वोच्च अदालतले यही वर्ष मात्र सफा हिमाल अभियान अन्तर्गत नेपाली सेनालाई केही बजेट विनियोजन गरिए पनि पर्याप्त नभएको भन्दै फोहोर, शव व्यवस्थापन र रोकथामका लागि पर्याप्त लगानी गर्न भन्दै परमादेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम संघीय कानुन बमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने भएकाले त्यस रकमबाट समेत सफा हिमाल अभियानको निमित्त स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले छुट्टाछुट्टै पर्याप्त बजेट विनियोजन गराउन’ भनेको थियो ।

सर्वोच्च अदालतले हिमाल देशको पहिचान भएको भन्दै यसकै रुपमा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै सगरमाथालाई स्वच्छ राख्न कदमहरू चाल्न सुझाएको थियो ।

अदालतले हिमाललाई फोहोर राख्ने र रोयल्टीको नाममा हिमालहरूले थेग्नै नसक्ने संख्यालाई पर्वातारोहण गर्न नदिन पनि उल्लेख गरेको थियो ।

‘त्यो गर्न दिनु भनेको हिमाललाई पीडा दिनु र अपमान गर्नु हो, जलवायु परिवर्तनको प्रभावहरू पहिले नै हिमालमा निकै कठोर रहेको छ’, उनले भने, ‘यसरी आरोहण गर्ने क्षमता पनि नभइ सहजै र बारम्बार आरोहणका लागि स्वीकृति दिँदा हिमालले थेग्न नसक्ने र पर्वतारोहीहरूको जीवन समेत खतरामा परिरहेको छ ।’

तर, अदालतले आदेश दिएकै वर्ष सरसफाइ अभियान रोकिनुले सरकार यसमा गम्भीर नभएको देखिने सरोकारवालाहरू बताउँछन् । जलवायु अभियन्ता सिलसिला आचार्य भन्छिन्, ‘यसको स्पष्ट अर्थ सरकारले हिमाल सरसफाइलाई प्राथमिकता दिएन भन्ने हो ।’

वातावरण संरक्षणमा काम गरिरहेको अभ्नी भेञ्चर्सकी निर्देशक समेत रहेकी उनी सरकारले व्यवस्थापनमा ध्यान नदिँदा समेत लगानी जुटाउन गाह्रो भएको बताउँछिन् ।

‘पछिल्लो समय आरोहणमा जानेलाई फोहोर लिएर फिर्ता आए पाउने गरी सगरमाथाका लागि ४ हजार डलर सुरक्षा डिपोजिट राख्ने गरेको छ, तर त्यसलाई फिर्ता नहुने गरी कोषमा राखेर सफाइमा खर्च गर्नेबारे सोच्नुपर्छ’, आचार्य भन्छिन्, ‘त्यसरी उठाउने रकम मात्र सफाइमा पर्याप्त त हुँदैन, तर त्यो व्यवस्थापनको सुरुवात बन्न सक्छ ।’

कतिपय जानकारहरू नियमन र सफाइ नै गर्न नसकिने किसिमले आरोहण अनुमति दिन नहुने समेत तर्क गर्छन् ।

हिमालको हालखबर

सन् २०२४ मा सगरमाथा आरोहण गरेका बंगलादेशी नागरिक बाबर अलीको अनुभवमा, सगरमाथाको क्याप ३ र ४ मा धेरै फोहोरहरू देखिन्थे ।

‘आरोहीले त्यहाँ बस्दा राखेको टेन्ट त्यत्तिकै छाडेर जाँदा हावाहुरीले त्यसलाई उडाएर च्यातिएका कपडाहरू यत्रतत्र देखिन्थे’, उनले सम्झिए, ‘अर्को कुरा अक्सिजन सिलिण्डर, बोतल, भाँडाकुँडा पनि यत्रतत्र छरिएका देखिन्छन्, अन्य किमिसका प्लास्टिकहरू धेरै देखिन्छन् ।’

सगरमाथा क्षेत्रमा केही वर्षयता हिउँ पर्ने क्रम कम भएको अनुभव गरेका अलीले बताएअनुसार, बेस क्याम्पसम्म सामान ढुवानीका लागि त्यति गाह्रो नभएकाले समस्या छैन ।

‘क्याम्प १ र २ मा पनि समस्या लाग्दैन, तर त्यसभन्दा माथि चढेपछि चाहिँ सगरमाथा कति फोहोर छ भन्ने देखिन्छ’, अहिले अन्नपूर्ण हिमाल आरोहणका लागि काठमाडौं आएका उनले अनलाइनखबरसँग भने, ‘क्याम्प ३ मा केही अक्सिजन सिलिण्डरहरू पनि देखिन्छन्, यद्यपि त्यो महँगो भएका धेरैले तलसम्म ल्याउने गरेका छन् ।’

हिमालमा लामो समयदेखि पुरिएका शवहरू पनि हिउँ नपरेका कारण बाहिर देखिने गरेको उनको अनुभव छ । ‘ती सगरमाथा पहिलो पटक आरोहण भएदेखिकै शवहरू पनि हुन सक्छन्,’ उनी थप्छन्, ‘यस्तोमा सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) र नेपालले गरिरहेको काम एकदमै प्रशंसनीय छ ।’

तर, अहिले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको हिमाल सरसफाइ अभियान स्थगित हुँदा यसमा जोडिएका सरकारी र गैरसरकारी अधिकारीहरू असन्तुष्ट छन् । सरसफाइ अभियानमा जोडिएका आरोही तथा पर्वतारोहण व्यवसायी बाबु शेर्पा सेनाबाट भइरहेको नियमित काम रोकिनुले हिमाललाई राज्यले कति महत्व दिइरहेको छ भन्ने झल्काउने बताउँछन् ।

‘अहिले २ करोड ७५ लाख रुपैयाँ बजेटमा सरसफाइ गर्ने भनेर नेपाल पर्यटन बोर्ड (एनटीबी) ले छलफल गरिरहेको पनि थाहा पाएको छु’, उनी भन्छन्, ‘तर, त्यसका लागि पनि तयारी गर्न एकदमै ढिलो भइसक्यो ।’

चीनतर्फबाट समेत सगरमाथाको आरोहण गरेका आरोही अनिल लुइँटेलको भनाइमा, सर्वोच्च शिखरको दुई फरक भागको परिस्थिति ठ्याक्कै विपरित देखिन्छ ।

‘मैले सन् २०१६ मा नेपाल र २०१८ मा चीनतर्फबाट आरोहण गरेँ’, उनी भन्छन्, ‘चीनतिरबाट जाँदा सफा देखिन्थ्यो भने नेपालतिर हिउँमा पुरिएर छाडिएका प्लास्टिकका कपडा, क्यान लगायत कुराहरू देखिन्थे ।’

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही समेत रहेका उनी सगरमाथामा ट्वाइलेट ब्याग, प्रयोग भइसकेका टेन्ट, प्लास्टिक, अक्सिजन सिलिण्डर, मृत शरीर लगायत आफूले यत्रतत्र देखेको अनुभव सुनाउँछन् ।

सगरमाथामा थुप्रिएको फोहोरले पर्यावरणलाई असर पुर्‍याइरहेको भन्दै उनी सरसफाइका लागि राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

नेपाली सेनाले सन् २०१३ मा भारतीय सेनासँग समेत मिलेर संयुक्त सगरमाथा आरोहण गरेको थियो, त्यसबेला सगरमाथाबाट ४.६ टन फोहोर संकलन गरेर ल्याएको थियो ।

‘त्यसबेला केही शेर्पाको सहयोगमा सेनाले त्यो काम गरेको थियो’, संयुक्त आरोहण दलका सदस्य समेत रहेका पूर्वसेनानी आदित्य कार्की भन्छन्, ‘त्यसबेलाबाटै सेना हिमाल सरसफाइमा जोडिएको भए पनि सन् २०१९ पछि औपचारिक रुपमै सरसफाइ अभियान सुरु भएको थियो ।’

नेपाली सेना निकुञ्जको सुरक्षामा पहिल्यैदेखि जोडिएको थियो । त्यस्तोमा हिमालहरू राष्ट्रिय निकुञ्जभित्रै भएको र पर्यावरण संरक्षण सिंगो राज्यको दायित्व भन्दै सेनाले सगरमाथा सरसफाइ अभियान चलाउँदै आएको थियो ।

‘हिमाल आरोहणको जुनसुकै कार्यक्रम हुँदा सांकेतिक रूपमा फोहोर ल्याउने काम गरिरहेका थियौं,’ कार्की थप्छन्, ‘त्यसपछि हिमाल भनेको कुनै पर्वतारोहण शाखाको, कुनै मन्त्रालयको मात्र होइन, समग्र नेपालकै हो भन्ने सोचेर सेनाको नेतृत्वमा यो अभियान चलाइएको हो ।’

वातावरण विभागमा पनि हिमाल सरसफाइका लागि भनेर बजेट छुट्टिने तर, जनशक्ति लगायतका कारणले काम नभएको भन्ने थाहा भएपछि सेनाले विभागसँग पनि जोडिएर औपचारिक रुपमै सबै निकायको अभियानका रूपमा अघि बढाएको उनी सम्झन्छन् ।

कति छ सगरमाथामा फोहोर ?

नेपालमा सन् १९८२ देखि २०२४ सम्ममा २२०८ देखि २७६० टनसम्म फोहोर थुप्रिएको पर्यटन मन्त्रालयको अनुमानित तथ्यांक छ ।

नेपाली शेर्पा तेञ्जिङ नोर्गे र एड्मन्ड हिलारीले २९ मे १९५३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । र, आरोहणको सुरुवातदेखिकै फोहोर त्यहाँ हुनसक्ने जानकारहरू बताउँछन् ।

नेपाली सेनाको अगुवाइमा भएको सगरमाथा सरसफाइ अभियानलाई आधार बनाउँदा सन् २०१९ देखि २०२४ सम्ममा ९ वटा मृत शरीरसहित ११६.८६ टन फोहोर संकलन गरेर ल्याउँदा ४३ करोड ९७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

अहिलेको विवरण अनुसार, १७६० देखि २४०० टनसम्म फोहोर उठ्न बाँकी छ । र, पछिल्लो समय सरसफाइमा भएको खर्चलाई आधार बनाउने हो भने सरसफाइका लागि मात्र कम्तीमा १७६० टन सरसफाइका लागि ६ अर्ब ६२ करोड ३४ लाख ५३ हजार ९६५ रुपैयाँ लाग्ने दखिन्छ ।

यो हिसाबमा अहिलेकै गतिमा काम गर्दा यो फोहोर संकलन गर्न ९० वर्ष लाग्न सक्ने देखिन्छ । हिमालमा ३०० देखि ४०० मृत शरीर अनुमान गरिएकोमा त्यसलाई फिर्ता ल्याउन ३० देखि ४० करोड रुपैयाँ खर्च लाग्ने सरकारी तथ्यांक छ । यस्तोमा एकैपटक हिमाल सरसफाइ गर्न नसकिएपछि वर्षेनि विभिन्न निकायसँग मिलेर सेनाले फोहोर संकलन गर्दै आएको थियो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय स्रोतका अनुसार, सन् २०१९ पछि सरसफाइका लागि नियमित बजेट छुट्टिँदै आएको थियो । कोभिड महामारीका कारण सरसफाइ अभियान रोकिँदा समेत बजेट छुट्टिएको थियो । ‘यसपालि बजेट नै नछुट्टिएकाले अभियान स्थगित गर्नुपर्‍यो’, एक सैनिक अधिकृतले भने ।

आरोही बाबर अली भने सफाइ अभियान मात्र नभइ, हिमालबारे नेपालले कठोर निर्णय समेत लिनुपर्ने पनि हुनसक्ने बताउँछन् । उनी सुझाव दिन्छन्, ‘सगरमाथामा यति धेरै आरोही भए कि निश्चित समय आरोहण बन्द गरेर सरसफाइमा ध्यान दिनेबारे पनि नेपालले सोच्नुपर्ने हुनसक्छ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?