+
+
Shares

अन्डाको भाउमा किसान र उपभोक्तालाई ‘डन्डा’

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अन्डाको उपभोक्ता मूल्य २० रुपैयाँ हो । तर, उपभोक्ता सानो साइजको अन्डा प्रतिगोटाको मूल्य नै २५ रुपैयाँ तिर्न बाध्य छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ चैत १४ गते १६:३०

१४ चैत, काठमाडौं । अन्डा अहिले यस्तो उपभोग्य खाद्य वस्तु हो जसको भाउ थिर छैन । अर्को खास कुरा के हो भने अन्डा उत्पादक किसानले लागत पाइरहेका छैनन् भने उपभोक्ताले अधिकांश समय महँगो तिर्न बाध्य छन् ।

अन्डाको भाउ पछिल्लो केही समयदेखि निकै नै उतारचढावपूर्ण रहँदै आएको छ । गत फागुनसम्म बढेको अन्डाको भाउ चैत लाग्दा भने केही घटेको छ ।

तर, अन्डाको भाउ उतारचढावमा अन्डा उत्पादक किसान र अन्डा उपभोग गर्ने किसानले भने सधैं मार खानुपरेको देखिन्छ ।

अन्डा उत्पादक किसानले लागत खर्च पनि हातमा नपर्ने गुनासो गर्दै आएको अहिलेदेखि होइन । यता, अन्डा खपत गर्ने उपभोक्ताले अन्डाको भाउ किन यस्तो महँगो भन्दै आएको पनि नयाँ विषय पक्कै होइन ।

अन्डा उत्पादक किसानले बजारमा चलेको भन्दा कम मूल्य पाउने गर्छन् । अन्डा उत्पादन क्षेत्रमा पनि बिचौलियाकै हालीमुहाली हुँदा किसानले उत्पादन अनुसार भाउ पाउन सकेका छैनन् ।

संघले तोकेको ठूलो अन्डाको भाउ अहिले प्रतिक्रेट ३ सय ६५ रुपैयाँ छ । मध्यम अन्डा भने क्रेटको ३ सय ३५ रुपैयाँ तोकिएको छ

एउटा अन्डा उत्पादन गर्न १६ रुपैयाँ ५३ पैसा लागत पर्ने व्यवसायी बताउँछन् । किसानले भने जम्मा १४ रुपैयाँमा एउटा अन्डा बेच्नु परिरहेको छ ।

तर, त्यही अन्डा उपभोक्तासम्म आइपुग्दा एउटाको २५ रुपैयाँ तिनुपर्ने बाध्यता छ । आखिर उपभोक्तासम्म आइपुग्दा एउटै अन्डामा किन १० रुपैयाँसम्म बढी तिर्नुपरेको हो त ?

चैत लागेपछि भने अन्डाको भाउ घटेको नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेल बताउँछन् ।

उनका अनुसार संघले तोकेको ठूलो अन्डाको भाउ अहिले प्रतिक्रेट ३ सय ६५ रुपैयाँ छ । मध्यम अन्डा भने क्रेटको ३ सय ३५ रुपैयाँ तोकिएको छ ।

गर्मी बढेकाले उत्पादन बजार पठाइ हाल्नुपर्ने हुँदा यही भाउ कार्यान्वयन भएको भन्ने चाहिँ नभएको उनले बताए । ‘फागुनमा अन्डाको भाउ क्रेटको ४ सय २५ रुपैयाँ थियो,’ पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले चैतमा अन्डाको भाउ घटेर क्रेटको ३ सय ६५ रुपैयाँ कायम भएको छ । यो भाउ चैत ४ मा तोकिएको हो । अब भने अन्डाको भाउ बढ्छ ।’

संघका अनुसार चितवन, मकावनपुर, झापा, सुनसरी, मोरङ, दाङ लगायत जिल्लामा अन्डा उत्पादन हुन्छ । अन्डाको मूल्य निर्धारण चितवनलाई आधार मानेर गरिन्छ । उत्पादकले मूल्य निर्धारण गरेपछि त्यसमा बक्स, क्रेट र ढुवानी भाडासमेत जोडेर वितरकले खुद्रामा अन्डा बिक्री गर्ने गर्छन् ।

अन्डाको उतारचढावपूर्ण भाउ

पछिल्लो समय अन्डाको खपत बढ्दो क्रममा रहेको र उत्पादन घट्दो क्रममा रहेकाले मूल्यवृद्धि भइरहनु स्वाभाविक भएको संघको दाबी छ

कुखुरापालक संघको तथ्यांक हेर्दा गएको फागुनमा प्रत्येक साता अन्डाको भाउ बढेको देखिन्छ । ९ फागुनमा मिडियम साइज अन्डाको भाउ क्रेटको ३ सय ५० रुपैयाँ र ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७० रुपैयाँ थियो ।

लगत्तै तीन दिनपछि १२ फागुनमा संघले मिडियम साइज अन्डाको भाउ प्रतिक्रेट ३ सय ९० र ठूलो अन्डा क्रेटको ४ सय १० रुपैयाँ तोकेको थियो ।

यस्तै, गत १५ मंसिरमा मिडियम अन्डाको भाउ क्रेटको ४ सय ४० र ठूलो अन्डाको ४ सय ५५ रुपैयाँ तोकिएको थियो । यो भाउ फेरि २१ मंसिरमा बढेर मिडियम अन्डाको ४ सय ५५ र ठूलो अन्डाको ४ सय ७० रुपैयाँसम्म पुगेको थियो ।

संघले फेरि २८ मंसिरमा मिडियम अन्डाको भाउ क्रेटको ४ सय ७० र ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ८५ रुपैयाँ पुर्‍यायो ।

त्यसपछि फेरि ४ पुसमा अन्डाको भाउ बढेर मिडियम अन्डा क्रेटको ४ सय ८५ र ठूलो अन्डाको ५ सय रुपैयाँसम्म पुगेको थियो । संघले १२ पुसमा पुनः मिडियम अन्डा क्रेटको ५ सय र ठूलो अन्डा ५ सय १५ रुपैयाँ निर्धारण गरेको थियो ।

अन्डा उत्पादक किसानलाई भन्दा बिचौलिया र ठूला उत्पादकलाई मात्रै फाइदा हुने गरी मूल्य निर्धारण गर्ने गरिएको व्यवसायीहरूको गुनासो छ ।

गएको १७ फागुनमा पनि अन्डाको भाउ फेरि बढाइयो । संघले मिडियम अन्डा क्रेटको ४ सय ५ रुपैयाँ र ठूलो अन्डा ४ सय २५ रुपैयाँ निर्धारण गरेको थियो ।

चितवनबाट अन्डा लोड भएर डिपो/डिलरसम्म पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित एक क्रेटमा करिब २० रुपैयाँ थपिने संघको भनाइ छ । त्यसपछि सोही अन्डा खुद्रा पसल पुगेर पसलेले पनि मुनाफा राख्दा उपभोक्ता महँगोमा किन्न बाध्य हुन्छन् ।

‘अन्डा उत्पादक किसानको अवस्था उस्तै’

दुई महिना अघिसम्म भएको उत्पादनको तुलनामा १५ दिनमै २० देखि २५ प्रतिशत अन्डा उत्पादन घटेको छ

मकवानपुर उद्योग वाणिज्य संघ महासचिव तथा श्रेष्ठ पोल्ट्री फार्मका सञ्चालक प्रतिमा श्रेष्ठ कुखुरापालक तथा अन्डा उत्पादक किसानको अवस्था खासै राम्रो नभएको बताउँछिन् ।

उनका अनुसार अहिले उत्पादन र बजार मूल्य दुवै घटेको छ । ‘बजारमा मूल्यमा पनि प्रतिस्पर्धा छ, दानाको मूल्य पनि महँगो छ,’ उनले भनिन्, ‘दुई दिन अन्डाको मूल्य बढ्यो भने ५ दिन घट्छ, हाम्रो उत्पादनको सप्लायर्ससँग प्रतिस्पर्धा हुन्छ ।’

दुई/तीन दिनमा अन्डाको भाउ बढ्छ : संघ

नेपाल लेयर्स कुखुरापालक संघ अध्यक्ष विनोद पोखरेल १७ फागुनपछि अन्डाको भाउ यथावत रहे पनि अबको दुई/तीन दिनमा अन्डाको भाउ बढ्ने बताउँछन् ।

‘अब गर्मी लागेसँगै उत्पादन घटेको छ, विभिन्न किसिमका रोगव्याध लागेर कुखुरा मर्न थालेका छन्,’ पोखरेल भन्छन्, ‘पछिल्लो दुई महिनादेखि किसानले अन्डाको लागत मूल्य पनि पाएका छैनन् ।’

उनका अनुसार घाटामा जान थालेपछि किसानले धमाधम कुखुरा बेच्न थालेका छन् । त्यसै कारण पनि अन्डा उत्पादनमा कमी आएको छ ।

पछिल्लो समय अन्डाको खपत बढ्दो क्रममा रहेको र उत्पादन घट्दो क्रममा रहेकाले मूल्यवृद्धि भइरहनु स्वाभाविक भएको अध्यक्ष पोखरेलको दाबी छ ।

‘कोरोना भाइरस महामारीपछि धेरै किसान विस्थापित हुन पुगेका छन्, अन्डा उत्पादन घट्नुमा यो पनि एउटा कारण हो,’ उनी भन्छन्, ‘अहिलेको अवस्थामा पर्यटक आगमन बढी छ, स्कुल–कलेजले पनि अन्डा बढी प्रयोग गर्छन्, सर्वसाधारणको भान्सामा दैनिक अन्डा पाक्छ । यिनै कारण अन्डाको भाउ बढेको छ । अब दुई/तीन दिनमा अन्डाको भाउ अझै बढेर जान्छ ।’

संघ अध्यक्ष पोखरेलका अनुसार दुई महिना अघिसम्म भएको उत्पादनको तुलनामा १५ दिनमै २० देखि २५ प्रतिशत अन्डा उत्पादन घटेको छ ।

‘उत्पादन घट्ने क्रम अझै बढ्दै जान्छ, भदौ–असोजपछि मात्रै उत्पादन बढ्न थाल्छ,’ उनी भन्छन्, ‘चिसो मौसम लागेपछि उत्पादनको मात्रा बढ्दा मूल्य घट्छ । अब त स्वतः मूल्य बढ्दै जाने नै हो ।’

आजको दिनसम्म किसानले प्रतिगोटा अन्डाको भाउ १४ देखि १५ रुपैयाँसम्म मात्रै पाएको उनले बताए ।

‘ठूलो अन्डा गोटाको २५ मा बेच्न पाइँदैन, २० रुपैयाँ हो’

संघ अध्यक्ष पोखरेलका अनुसार ठूलो अन्डाको उपभोक्ता मूल्य २० रुपैयाँ हो । तर, उपभोक्ता सानो साइजको अन्डा प्रतिगोटाको मूल्य नै २५ रुपैयाँ तिर्न बाध्य छन् ।

‘ठूलो अन्डाको उपभोक्ता मूल्य २० रुपैयाँ हो,’ अध्यक्ष पोखरेल भन्छन्, ‘व्यापारीले उपभोक्तासँग २५ रुपैयाँ लिनु गलत हो, संगठनले नै २० रुपैयाँ मूल्य तोक्दातोक्दै व्यापारीले २५ मा बेच्न पाउँदैनन्, उनीहरूलाई होलसेल मूल्य १८ रुपैयाँ पर्छ ।’

उनका अनुसार प्रतिक्रेट ढुवानी खर्च २० रुपैयाँ लाग्छ । १ रुपैयाँ प्रतिगोटा ब्रेकेज आउँछ, बीचमा ३ स्टेप हुन्छ । सप्लायर्स, सेल्समेन र पसलसम्म पुगेर मात्रै उपभोक्तामा पुग्ने हुन्छ । यो सबै खर्च जोड्दा आजको दिनमा प्रतिगोटा १८ रुपैयाँमा पसलमा अन्डा पुग्ने हो । उनीहरूले २० रुपैयाँ गोटामात्र बेच्न पाउँछन् ।

तर, खुद्रा पसलेले भने चितवनदेखि काठमाडौंसम्म अन्डा ल्याइपुर्‍याउँदा टुट्ने फुट्ने हुँदा घाटा खानुपर्ने भएकाले २५ रुपैयाँमा बेच्नुपर्ने बाध्यता सुनाउँदै उपभोक्तालाई लुट्ने गरेका छन् ।

संघले टुटेफुटेको सबै मूल्य जोडेर नै पठाउने हुँदा पसलेले उपभोक्तालाई ठगी गर्दा उपभोक्ता मञ्च र वाणिज्य विभागले अनुगमन र कारबाही गर्नुपर्ने संघ अध्यक्ष पोखरेल बताउँछन् ।

पोखरेल अन्डा उत्पादन बढाउन र लागत मूल्य घटाउन सरकारले पहल गर्नुपर्ने बताउँछन् । यसका लागि सरकारले मकै, भटमास, औषधिको भन्सार र कर घटाउनुपर्ने बताउँछन् ।

‘हाम्रो देशमा नामको मात्र सरकार छ । किसानको हकहितका बारेमा सरकारले कहिल्यै पनि सोच्ने काम गर्दैन र गरेको पनि छैन,’ उनी भन्छन्, ‘किसानले आफूले गरेको उत्पादनको लागत मूल्य नपाउने भएपछि के सोचेर उत्पादन गर्ने र उत्पादन बढाउने भन्ने हो ।’

अन्डा बेचेर दाना किन्ने पैसा आउँदैन ः किसान

चितवनका एक अन्डा उत्पादक किसानका अनुसार अहिले अन्डा उत्पादन गर्ने कुखुरालाई खुवाउने दानाको मूल्य किलोको ६० देखि ६५ रुपैयाँसम्म पर्छ । किसानको उत्पादनले कहिल्यै उचित मूल्य नपाउने हुँदा अहिले धेरै कुखुरापालक किसान पलायन भइसकेको उनी बताउँछन् ।

‘दाना महँगो हुँदा एउटै अन्डाको लागत नै महँगो पर्न जान्छ, हामीले बिक्री गर्दा नै घाटामा गर्नुपर्छ,’ उनले दुखेसो पोखे, ‘अहिले अन्डा बेचेर दाना खुवाउने पैसा पुग्दैन । यो सबै घाटाको काम हो । हामीले समयमै रकम नबुझाए दाना व्यवसायीले दाना पनि दिँदैनन् ।’

किसानलाई सरकारले कुनै सहयोग नगर्दा बिचौलियाका कारण थप समस्यामा परेको उनको भनाइ छ ।

कुनै पनि संघले मूल्य तोक्न पाउँदैन : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना कुनै पनि व्यावसायिक र वस्तुगत संघलाई नेपालको अहिलेको मौजुदा कानुनले मूल्य तोक्ने अधिकार नदिएको बताउँछन् ।

नेपाल फलफूल व्यवसायी संघले जुसकोे मूल्य तोक्ने, अन्डा व्यवसायी संघले अन्डाको मूल्य तोक्ने, कुखुरापालक संघले मासुको मूल्य तोक्ने, सुनचाँदी व्यवसायी संघले सुनको मूल्य तोक्ने जुन काम गरिरहेका छन् यो पूर्णरूपमा गैरकानुनी भएको उनी बताउँछन् ।

‘मुलुकका कुनै पनि किसानले मूल्य पाउन सकेका छैनन्, संघमा बसेका बीचका बिचौलियाले मूल्य निर्धारण गर्ने र उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘सरकारसँग मूल्य नियमन गर्ने, विश्लेषण गर्ने र मूल्य निर्धारण गर्ने संयन्त्रको विकास नभएसम्म यो समस्या समाधान हुनेवाला छैन ।’

उनका अनुसार सरकारले नै बजारमा उनीहरूले निर्धारण गरेको मूल्य ठिक हो कि होइन भनेर कहिल्यै अनुसन्धान र अनुगमन गर्दैन । यसै कारण नै बजारमा यस्ता वस्तुगत संघहरू हाबी भएका हुन् ।

‘तिनै बिचौलियाले बजारमा मूल्य बढ्दै छ भनेर प्रक्षेपण गर्ने, कार्टेलिङ गर्ने, पुराना सामानमा पनि बढेको नयाँ मूल्य लिन खोज्ने गर्दा किसानले लागत उठाउन नसक्ने र उपभोक्ता मारमा पर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘बजार हस्तक्षेप गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यको अनुगमन, नियमन नगर्दासम्म व्यापारीहरूको चंगुलमा हाम्रो बजार फसिरहन्छ ।’

संघले तोकेको मूल्य नै गैरकानुनी भएको हुँदा सबैभन्दा पहिला सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?