+
+
Shares

विदेशी कारमा २५ प्रतिशत भन्सार लागू गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १०:३८

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी आयातित कारहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ ।

यो घोषणा १ अप्रिलदेखि लागू हुनेछ। बुधबार जनरल मोटर्सका शेयरमा ३ प्रतिशत गिरावट आएको छ भने जीप र क्रिसलर उत्पादक कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट देखिएको छ।

यस कदमले अमेरिकाको उत्पादन क्षेत्रलाई मजबुत बनाउन मद्दत गर्ने ट्रम्पले दाबी गरेका छन् । ह्वाइट हाउसको अनुमानअनुसार यो निर्णयले अमेरिकी राजस्वमा वार्षिक १०० अर्ब अमेरिकी डलरको वृद्धि हुनेछ।

ट्रम्पले आफ्नो निर्णयले अमेरिका भित्रै नयाँ कारखाना खोल्न प्रेरणा दिने दाबी गरेका छन् । क्यानडा र मेक्सिकोमा निर्माण हुने अटो पार्ट्स र गाडी अब अमेरिकामै उत्पादन हुने ट्रम्पको भनाइ छ। उनले यो निर्णय नबदलिने पनि उल्लेख गरेका छन्।

अटो निर्माताहरूलाई लागत बढ्ने चिन्ता

पीटीआईको रिपोर्ट अनुसार ट्यारिफका कारण अटो निर्माताहरूको लागत बढ्न सक्नेछ, जसले गर्दा बिक्रीमा कमी आउन सक्छ। अमेरिकी कार निर्माताहरूले आफ्ना थुप्रै अटो पार्ट्स अन्य देशहरूबाट आयात गर्छन्।

अमेरिकी सञ्चार माध्यममा प्रकाशित सामग्रीहरूका अनुसार अमेरिकामा नयाँ कारको औसत मूल्य अहिले करिब ४९ हजार अमेरिकी डलर रहेको छ। ट्रम्पको नयाँ घोषणा लागू भयो भने आयातित कारको मूल्य १२ हजार ५ सय अमेरिकी डलरसम्म बढ्न सक्ने सम्भावना छ।

क्यानडाको विरोधईयूको आपत्ति

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको निर्णयको आलोचना गर्दै भने, ‘यो हाम्रो कामदार र कम्पनीहरूमाथि सीधा आक्रमण हो। हामी आफ्ना नागरिकको अधिकार र उद्योगको सुरक्षा गर्नेछौँ।’

युरोपेली आयोगकी अध्यक्ष उर्सुला वोन डर लियेनले पनि अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेकी छन्। उनले भनिन्, ‘ट्यारिफ व्यवसायको लागि हानिकारक मात्र होइन, ग्राहकहरूका लागि अझ बढी समस्याजनक हुन्छ।’

ट्रम्पले २ अप्रिलदेखि भारतसहित सबै देशहरूमाथि जसरी पनि भन्सार शुल्क नीति लागू गर्ने घोषणा गरेका छन्। उनले यसै महिनाको संसद् सम्बोधनमा भनेका थिए, ‘भारत हामीबाट १०० प्रतिशतभन्दा बढी भन्सार शुल्क असुल्छ, अब हामी पनि यही कदम चाल्दै छौँ।’

भारत आफ्नो १७ प्रतिशतभन्दा बढी विदेशी व्यापार अमेरिकासँग गर्छ। ट्रम्पले भने जस्तो भए यसबाट दक्षिण एशियाली बजार पनि प्रभावित हुनेछ ।

ट्रम्पले अन्य देशहरूले अमेरिका तुलनामा धेरै बढी भन्सार शुल्क लगाएर अन्याय गरिरहेका छन्। अरुको जस्तै नीति अपनाउँदा निष्पक्ष व्यापार हुने र अमेरिकी सरकारको आम्दानीमा वृद्धि हुने उनी विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?