+

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

२०८१ चैत  १४ गते १३:२३ २०८१ चैत १४ गते १३:२३
Shares
घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

घुँडाको जोर्नी खिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि घुँडाको जोर्नी प्रत्यारोपण उत्तम उपचार हो। यस शल्यक्रिया पश्चात् लाखौं बिरामीहरू घुडाको दीर्घ दुखाइबाट मुक्त भई नयाँ जीवन महसुस गर्छन्।

घुँडाको जोर्नी प्रत्यारोपण सन् १९७० को दशकमा सुरु भएको थियो । हाल विश्वमा वार्षिक करिब ३६ लाख घुँडाको जोर्नी प्रत्यारोपण भएको तथ्याङ्क छ। नेपालमा सन् २००० को दशकमा सुरु भएको जोर्नी प्रत्यारोपण हाल वार्षिक २००० को सङ्ख्यामा हुने गरेको छ।

बढ्दो वृद्ध उमेर समूह, मोटोपना र शल्यक्रियाको उपलब्धता बढेअनुसार आउँदा दिनमा शल्यक्रिया अझ उल्लेख्य रुपमा बढ्ने देखिन्छ। यस शल्यक्रिया का लागि चिकित्सकलाई बिरामीलाई प्राय सोधिरहने प्रश्नहरूको उत्तर यस लेखमा समेट्ने प्रयास गरेको छु।

१. घुँडाको जोर्नी प्रत्यारोपण के हो ?

जोर्नी प्रत्यारोपण एउटा शल्यक्रिया हो जुन खिएको घुँडाको जोर्नीमा भएको क्षतिग्रस्त सतहलाई हटाएर कृत्रिम सामग्री राखिन्छ। यसको उद्देश्य दुखाइ कम गर्नु, जोर्नीको गति सुधार्नु र जीवनको गुणस्तर बढाउनु हो। जब औषधि, फिजियोथेरापी र इन्जेक्सन जस्ता शल्यक्रिया बाहेकका उपचारले काम गर्न छाड्छ अनि यो शल्यक्रिया गरिन्छ

२. किन गरिन्छ शल्यक्रिया ?

ओस्टियोआर्थराइटिस एउटा डिजेनेरेटिभ (क्षयान्तक) रोग हो जुन जोर्नीको हड्डी बीचको कार्टिलेज कुशनलाई बिस्तारै समाप्त गर्छ। यसका कारण निम्न प्रकारका समस्याहरू देखा पर्न सक्छ ।

दुखाइ– औषधि वा अन्य उपचारबाट पनि ठिक नभएको निरन्तर दुखाइ।

घुँडा जाम हुने(स्टिफनेस) – घुँडा मोड्न वा सिधा गर्न गाह्रो हुने।

-हिँडडुल (मुभमेन्ट)मा कमी – हिँड्न, भर्‍याङ चढ्न वा लामो समय उभिन गाह्रो हुने।

विकृति (डिफर्मिटी) – जोर्नी बिग्रँदा घुँडा भित्रतिर वा बाहिरतिर बाङ्गो हुने।

यी समस्याहरूले दैनिक जीवन अत्यन्त कठिन बनाउँदा र अन्य उपचारले काम नगर्दा शल्यक्रिया उत्तम विकल्प बन्न सक्छ।

३. शल्यक्रिया कसरी गरिन्छ ?

घुँडाको जोर्नीको क्षतिग्रस्त भागलाई हटाएर कृत्रिम धातु ‘प्रोस्थेसिस’ प्रयोग गरिन्छ। यी प्रोस्थेसिसहरू धातु र टिकाउ प्लास्टिकबाट बनेका हुन्छन्, जसले प्राकृतिक जोर्नीको काम गर्छ।

४. शल्यक्रियामा कुन एनेस्थेसिया दिइन्छ ?

प्राय अवस्थामा ‘स्पाइनल एनेस्थेसिया’ अर्थात् ढाडमा सुई लगाएर दुई खुट्टा लाटो बनाउने गरिन्छ। बिरामी पूर्णरूपमा बेहोस बनाइएको हुँदैन। आवश्यकता हेरेर कहिलेकाँही पूर्णरूपमा बेहोस अर्थात् जनरल एनेस्थेसिया पनि आवश्यक पर्न सक्दछ।

५. शल्यक्रियालाई कति समय लाग्दछ ?

एउटा घुँडाका लागि डेढ देखि दुई घण्टा र दुईवटै घुँडाको प्रत्यारोपण गर्न घण्टा लाग्छ।

६. दुखाइ कतिको हुन्छ ?

शल्यक्रिया अगाडि सुई लगाउँदा सुईको दुखाइ हुन्छ। शल्यक्रियामा दुखाइ हुँदैन। घुँडा खिएर भएको दीर्घदुखाइ शल्यक्रियापश्चात निर्मूल हुन्छ। केबल घाउको दुखाइ केही दिन हुन्छ जुन औषधिबाट कम गर्न सकिन्छ।

७. अस्पताल कति दिन बस्नुपर्छ ?

शल्यक्रिया गरिसकेपछि ५ देखि ७ दिन अस्पताल बस्नुपर्ने हुन्छ। घाउको अवस्था, बिरामीको दुखाइ र हिँडडुलको अवस्था हेरेर अस्पतालबाट डिस्चार्ज गरिन्छ।

८. शल्यक्रिया कहाँ गरिन्छ?

देशभरिका विभिन्न अस्पतालमा जहाँ हाडजोर्नी विशेषज्ञ र जोर्नी प्रत्यारोपण विशेषज्ञको सुविधा भएको सरकारी एवं निजी अस्पतालमा गरिन्छ।

९. खर्च कति लाग्छ ?

प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्ट नेपालमा नबन्ने र विदेशबाट मगाउनुपर्ने भएकाले यो शल्यक्रिया अलि खर्चिलो हुन्छ। अहिलेको अवस्थामा एउटा घुँडाका लागि साढे ३ लाख देखि ६ लाख रुपैयाँ लाग्छ। दुईवटा घुँडाको ९ देखि १२ लाख खर्च लाग्छ। अस्पताल, शल्यचिकित्सक र औषधि अनुरूप खर्च लाग्दछ।

१०. दुईवटै घुँडा एकैचोटि प्रत्यारोपण गर्न सम्भव छ ?

बिरामीको स्वास्थ्य अवस्था हेरेर प्रत्यारोपण चिकित्सक र बेहोस पार्ने चिकित्सकको सल्लाहमा दुईवटै घुँडा एकैचोटी पनि प्रत्यारोपण गर्न सकिन्छ।

११. शल्यक्रिया पश्चात् रिकभरी कसरी हुन्छ ?

शल्यक्रियाको भोलिपल्ट नै बिरामीलाई उभ्याउने र थोरै हिँडाउने गरिन्छ। घुँडाको जोर्नीहरू खुम्च्याउन दिइन्छ। एक हप्ताको अस्पताल बसाइपछि डिस्चार्ज गरिन्छ। घाउको टाका सामान्यतया दुई हप्तापछि निकालिन्छ।

डेढ महिना ‘वाकर’को सहायताबाट हिँडाइन्छ र नियमित फिजियोथेरापी गराइन्छ। प्राय बिरामीहरू तीनदेखि छ महिनामा एकदम सामान्य रूपमा हिँडडुल गर्न सक्नुहुन्छ।

१२.कृत्रिम घुँडा कति समय टिक्छ ?

सामान्यतया, आधुनिक घुँडाका इम्प्लान्टहरू १५ देखि २० वर्ष वा त्यो भन्दा बढी समयसम्म टिक्छन्। नवीनतम सामग्री र प्रविधिले यसको जीवनकाल अझ बढाउँदैछ।

१३. शल्यक्रियाका जोखिम के-के छन् ?

प्रत्येक सर्जरीसँग केही जोखिम हुन्छ, जस्तै :

– संक्रमण

– रगत जम्नु

– इम्प्लान्ट लुज हुनु वा बिग्रिनु

– नसा वा रगतको नलीमा चोट पुग्नु

– निरन्तर दुखाइ

तर, यी समस्याहरू दुर्लभ हुन्छन्, र धेरैजसो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ। तपाईँको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले सम्भावित जोखिमहरू शल्यक्रिया अगाडि नै तपाईँलाई बुझाउने गर्दछन्।

१४. सर्जरीपछि म आफ्नो घुँडा सामान्यजस्तो मोड्न सक्छु ?

समयमै फिजिकल थेरापी गरेपछि, धेरैजसो बिरामीहरूले हिँड्न, भर्‍याङ चढ्न र कुर्सीबाट उठ्ने जस्ता जस्तोसुकै दैनिक कार्य गर्न सक्षम हुन्छन्।

१५. म कहिले काम र सामान्य जीवनमा फर्कन सक्छु ?

यो तपाईंको पेशा र दैनिकीमा निर्भर हुन्छ। अफिसको काम गर्नेहरू प्रायः ६ हप्तामा काममा फर्किन सक्छन् भने अधिक शारीरिक मेहनतको काम गर्नेलाई ३-५ महिना लाग्न सक्छ। ड्राइभ गर्न थाल्नका लागि ३ महिना कुर्नुपर्ने हुनसक्छ।

१६. सर्जरीपछि खेलकुद गर्न सकिन्छ ?

सामान्यतया, हल्का गतिविधि जस्तै हिँड्ने, साइकलिङ गर्न र पौडी खेल्न सुरक्षित मानिन्छ। तर, उच्च प्रभाव पर्ने गतिविधि (जस्तै दौडने वा जम्प गर्ने) इम्प्लान्टको दीर्घकालीन सुरक्षाका लागि टाढा रहन सल्लाह दिइन्छ।

१७. के म लामो समयसम्म वाकर वा छडी चाहिन्छ ?

अधिकांश मानिसहरूले शल्यक्रियापछि केही हप्ता या महिनामा वाकर वा छडीको आवश्यकता हटाउन सक्छन्।

१८. मोटोपनाले शल्यक्रियालाई असर गर्छ ?

मोटोपनले शल्यक्रियाको जोखिम बढाउन सक्छ र रिकभरी समय लामो बनाउन सक्छ। तर, धेरै मोटा बिरामीहरूले पनि प्रत्यारोपण पछि राम्रो परिणाम प्राप्त गरेका छन्। डाक्टरले कहिलेकाहीँ सर्जरीभन्दा अघि तौल घटाउन सल्लाह दिन सक्नुहुन्छ।

१९. घुँडा पहिलेको जस्तै महसुस हुन्छ ?

सामान्यतया, कृत्रिम घुँडाले दुखाइरहित र स्थिर जोर्नी प्रदान गर्छ, तर केही बिरामीले कृत्रिम भाग हुनुका कारण अलि फरक महसुस गर्न सक्छन्। यद्यपि, धेरैजसो बिरामीहरू घुँडाको बढेको कार्यक्षमता र जीवनशैलीमा आएपछि पूर्णसन्तुष्ट हुन्छन्।

र अन्त्यमा

प्रश्न सोधौँ : तपाईंको शल्यक्रिया, उपचार, र विचारहरू प्रष्ट पार्न डाक्टरसँग खुला रूपमा कुरा गर्नुहोस्। तपाईँको नातागोता र छरछिमेकमा जोर्नी प्रत्यारोपण गरेका मानिससँग शल्यक्रियाअघि र पछिको अनुभवबारे सक्दो जानकारी लिनुहोस् । र, आफ्नो चिकित्सकसँग सक्दो सल्लाह गरेर प्रत्यारोपण गर्ने वा नगर्ने निर्णयमा पुग्नुहोस्।

यदि तपाईँको घुँडा खिएर दीर्घ दुखाइ भएको छ र अरु उपचारले काम गरेको छैन भने शल्यक्रिया एक उत्तम उपचार हो। हाम्रो अनुभवमा धेरै बिरामीहरू घुँडाको दुखाइबाट मुक्त भएर सक्रिय जीवन बिताइरहनु भएको छ।

जोर्नी प्रत्यारोपण
डा. सुशील शर्मा
लेखक
डा. सुशील शर्मा
जोर्नी प्रत्यारोपण विशेषज्ञ

डा. सुशील शर्मा जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन् । उनी हाल निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) मा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर  १०३५२ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

घुँडाको जोर्नी प्रत्यारोपण कसरी गरिन्छ, कति लाग्छ खर्च ?

राजपरिवारलाई सेवा दिई ‘शाही चिकित्सक’ उपाधि पाएका डा. श्रेष्ठको निधन

राजपरिवारलाई सेवा दिई ‘शाही चिकित्सक’ उपाधि पाएका डा. श्रेष्ठको निधन

तौल घटाउन ‘वाटर फास्टिङ’ बस्दा किशोरीको मृत्यु, के हो ‘वाटर फास्टिङ’ ?

तौल घटाउन ‘वाटर फास्टिङ’ बस्दा किशोरीको मृत्यु, के हो ‘वाटर फास्टिङ’ ?

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार