१४ चैत, काठमाडौं । वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।
डा. श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन् । उनी तत्कालिन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिएका उनलाई २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’ को उपाधि प्रदान गरिएको थियो। २०५८ जेठ १९ राज परिवार हत्याकाण्ड भएपछि उनले सेवाबाट अवकाश लिएका थिए।
डा. श्रेष्ठको निधनमा नेपाल चिकित्सक संघले दु:ख व्यक्त गरेको छ। संघले विज्ञप्ति जारी गर्दै इमान्दार र लगनशील अग्रज चिकित्सक गुमाउनु पर्दा चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ ।
प्रतिक्रिया 4