
१४ चैत, काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स वितरण गर्न बाटो खोलिदिएको छ ।
नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स वितरण रोक्न माग गर्दै कृष्णबहादुर थापाले गत पुसमा दायर गरेको रिट निवेदन सर्वोच्चले बुधबार खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासले खारेज गरिदिएको छ । यो रिट खारेज भएसँगै नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स दिन बाटो खुलेको हो ।
नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स लिनका लागि बोर्डमा ३ कम्पनीले आवेदन दिएका छन् । हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनका लागि र नेप्सेको पुर्नसंरचनाका लागि कार्यायोजना बुझाउन गठित कार्यदललाई जिम्मा दिएको छ । कार्यदलले यसमा अध्ययन गरिरहेको स्रोतले जनाएको छ । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने र नेप्सेको पुर्नसंरचना दुवै सँगसँगै अघि बढाउने बोर्डको तयारी छ ।
प्रतिक्रिया 4