
१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे ।
भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरे ।
‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’
यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे ।
‘यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के-के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया 4