+
+
Shares

रास्वपाको महाधिवेशन वैशाखमा नहुने

केही नेता भन्छन्– मंसिर अघि महाधिवेशन सम्भव हुँदैन

वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १९:२९

१४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ । तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो ।

१ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । १२ मा बसेको केन्द्रीय समिति बैठकले महाधिवशेनको स्थानका लागि चितवन तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयन भएको भए यो महिनामा पालिका र जिल्ला अधिवेशन सकिने थियो । तर, वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ ।

हालसम्म ६ वटा पालिकाको मात्रै अधिवेशन सकिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘कार्यतालिका अनुसार यतिबेला जिल्लाको अधिवेशन हुनुपर्ने हो । तर, तोकिएको समय अनुसार हुन सकेको छैन, बुर्लाकोटीले अनलाइनखबरसँग भने ।

महाधिवेशनकेन्द्रित छलफल गर्ने गरी अर्को साता रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । महाधिवशेन तोकिएकै समयमा गर्ने गरी विकल्पमा पार्टी भित्र अनौपचारिक छलफल भइरहेको छ ।

तल्लो तहको अधिवेशन नगरी केन्द्रीय तहको गर्ने वा नयाँ कार्यतालिका बनाएर तहगत अधिवेशन गराउँदै केन्द्रको गर्ने गरी दुई विकल्पमा केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटीले जानकारी गराए ।

‘तलको अधिवेशन गर्दै आएर केन्द्रको महाधिवशेन तोकिएको समयमा गराउन समय प्रर्याप्त छैन । तलका संरचनामा अधिवशेन नगरेर केन्द्रको गर्दा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरेको हुनसक्छ,’ बुर्लाकोटीले भने, ‘अहिले बनाएको क्यालेन्डरलाई संशोधन गरेर जाऔं भन्ने तलका साथीहरुको सुझाव छ ।’

वडा पालिकाको अधिवशेन गराउन समय थप्दा सबै कार्यतालिका प्रभावित हुने भएको हुँदा केन्द्रीय समितिबाट निर्णय गरिने बुर्लाकोटीले बताए ।

तल्लो तहमा अधिवेशन हुन नसकि थप समय माग गरेपछि केन्द्रीय महाधिवशेनको समय प्रभावित हुने भएको हो । वडा र पालिका अधिवेशनका लागि २/४ महिना थप समयावधि माग भई आएको बुर्लाकोटीले जानकारी गराए ।

तल्लो तहका अधिवशेनका लागि समय थपिएसँगै वर्षा सुरु हुने र त्यस लगत्तै चाडपर्वहरू हुने भएकाले मंसिर अघि महाधिवशेनको सम्भव नहुने एक केन्द्रीय सदस्यले सुनाए । उनले भने, ‘महाधिवेशन बैशाखमा नहुने निश्चित हो । औपचारिक रूपमा नबोलिएको मात्रै हो,’ ती नेताले भने ।

कुनै पालिकाभित्रका ७० प्रतिशत वडाको अधिवशेन सम्पन्न भएको भए त्यस्ता स्थानमा पालिकाको अधिवशेन गराउन सकिने प्रावधान बनाइएको छ । तर, ७० प्रतिशत वडामा अधिवेशन गर्न सकिएन भने के गर्ने भन्ने विधि बनाइएको छैन ।

७० प्रतिशत भन्दा कम वडामा अधिवशेन भएका पालिकाको सन्दर्भमा पनि केन्द्रीय समितिले विधि तय गर्ने बुर्लाकोटीले जानकारी गराए । पूर्व निर्धारत समयमा महाधिवेशन हुन नसक्दा नयाँ मितिको बारेमा पनि पार्टी बैठकले निर्णय लिने बुर्लाकोटीले बताए ।

पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने गरी रास्वपाले विधानलाई संशोधन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन अवधि सकिनु ६ महिनाअघि नै दुई चरणमा हुने महाधिवेशनको मिति र स्थान पार्टीलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

पाँच वर्षको अन्तरमा दुई पटक महाधिवेशन गरेर पहिलो चरणमा सभापतिसहित ५० जना केन्द्रीय सदस्य र दोस्रो चरणमा थप ५० जना केन्द्रीय सदस्य थप्ने प्रावधान राखिएको छ ।

एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरक हुनुपर्ने विधानको व्यवस्था छ । २० जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ  ।

महाधिवेशन प्रतिनिधिहरुमा पालिका, निर्वाचन क्षेत्र परिषद्, जिल्ला परिषद्, प्रदेश परिषद्, केन्द्रीय लेखा आयोग, अनुशासन आयोग, केन्द्रीय विभाग, प्रदेश विभाग, प्रवास सम्पर्क विभागका सदस्य, आयोजक समितिका सदस्य सहभागी हुनेछन् । महाधिवेशन स्थल एकै ठाउँमा राख्ने वा फरक फरक स्थानबाट गर्ने टुंगो लगाउने जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?