+
+
Shares

कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व : ऊर्जामन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १४:३८

१४ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलेको बताए ।

‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ,’ मन्त्री खड्काले भने, ‘काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस् ।

मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् ।

‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ,’ उनले भने, ‘प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन ।’

सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ थियो ।

अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको दाबी छ ।

‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपक वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रि ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत् अगामी २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लगायतका लक्ष्य रहेका छन्,’ मन्त्री खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?