
१४ चैत, दाङ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजावादी शक्तिलाई धेरै महत्व दिनु आवश्यक नरहेको बताएका छन् । दाङ देउखुरीको राप्ती उपत्यकामा आज आयोजित कार्यक्रममा उनले राजावादी शक्ति अहिले चलमलाउनुले कुनै अर्थ नराख्ने टिप्पणी गरे ।
राजसंस्था मरिसकेको टिप्पणी गर्दै उनले भने, ‘बाख्रा काटिसकेपछि उसको पुच्छर मात्रै हल्लिन्छ, यसले कुनै अर्थ राख्दैन,’ भट्टराईले भने, ‘यो शक्तिसँग डराउनु वा महत्व दिनु आफैंमा मुर्खता हो ।’
ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी गुम्ने सम्भावना नरहेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा समेत जोड दिए ।
राजावादीप्रति कडा टिप्पणी गरेका भट्टराई दाङ सदरमुकाम घोराही पुग्दा राजावादी युवाहरुले कालोझण्डा देखाएका थिए ।
घोराही पुग्नुअघि पूर्वप्रधानमन्त्री डा. भट्टराईले देउखुरीको मौरीघाटस्थित लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र अवलोकन गरेका थिए । सो अवसरमा उनले संघीयता कार्यान्वयनका लागि भौतिक संरचनासँगै आर्थिक, सामाजिक र राजनीतिक पूर्वाधारहरूको पनि महवपूर्ण भूमिका रहेको चर्चा गरे ।
लुम्बिनी प्रदेशले गरिरहेको पूर्वाधार विकासको काम छिटो सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।
हाल लुम्बिनी प्रदेश राजधानीको प्रमुख प्रशासनिक केन्द्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नौ मन्त्रालयका गरी १० भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७९ पुसमा शुरु भएको भवन निर्माणको काम आगामी २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4