+
+
Shares

आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने

२० चैतबाट आन्दोलन घोषणा

नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १५:५५

१४ चैत, काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् ।

नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।

‘शिक्षकहरूले उत्तरपुस्तिका परीक्षा नगरी शैक्षिक सडक आन्दोलनमा आउनु हुन्छ । राज्यले माग पूरा नगरेकाले यो स्थिति आएको हो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । ७ चैतदेखि सुरु भएको एसईई १९ गते सकिँदै छ । अध्यक्ष सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने बताए ।

महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।

महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ । ‘शिक्षा ऐन जारी गर्न संसद् र सरकारले काम गरेन । आन्दोलनबाट फैसला गछौं,’ सुवेदीले भने ।

आन्दोलनरत शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । तर उक्त समितिसँँग वार्ताको औचित्य नरहेको महासंघको भनाइ छ । ‘यो कमिटिसँग बसेर समस्या साधान नहुने भएकाले वार्तामा नबस्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् । १५ जना शिक्षकको समूह रिले अनशमा बसेको हो । अहिले परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशनमा बसेको अध्यक्ष सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?