+
+
Shares

निजामती विधेयक संसदीय उपसमितिबाट पारित

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गरेर मूल समितिमा बुझाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १६:५८

१४ चैत, काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भएको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गरेर मूल समितिमा बुझाएको छ ।

बिहीबार सिंहदरवारस्थित समितिको सभाकक्षमा उपसमितिका संयोजक बडूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई विधेयकको प्रतिवेदन बुझाएका हुन् ।

विधेयकका अधिकांश विषयमा सहमति जुटाएको उपसमितिले अवकाश लगत्तै संवैधानिक नियुक्ति र परामर्शदाताको रुपमा काम गर्नका लागि निश्चित समय नपाउने (कुलिङ पिरियड) प्रावधानमा थप छलफल गर्न मूल समितिलाई सिफारिस गरेको छ ।

उपसमितिले भने संवैधानिक निकायमा नियुक्तिका लागि १ वर्ष र अन्य संस्थामा परामर्शदाताको रूपमा काम गर्न २ वर्ष कुलिङ पिरियड राख्न उपयुक्त हुने प्रतिवेदनमा लेखेको छ ।

अवकाशको उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, ६० वर्ष उमेरको प्रावधान एकै पटकमा लागु गर्ने कि ५९ हुँदै ६० वर्ष पुर्‍याउने भन्ने प्रक्रियामा सहमति जुटेको छैन । यो विषयमा पनि मूल समितिमा थप छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?