
१४ चैत, काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान सभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।
बनेपा नगरपालिकाको ४४औं स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सिंहले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील बन्नु नै सबैको हितमा हुने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान बनेपछि दुई पटक आमनिर्वाचन र स्थानीय निर्वाचन भइसकेको र संविधान सभाबाट अहिलेको संविधान बनेकोले यसको विकल्प नभएको उनले बताए ।
संविधान जारीपछि भएका अभ्यासमा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प नभएको मन्त्री सिंहको भनाइ छ ।
जस्तोसुकै चुनौती आए पनि यही संविधानबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले कसैले केही भन्दैमा डगमगाउने कुरा नभएको बताए ।
मन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए ।
प्रतिक्रिया 4