+

कप्तान अनिलको अर्धशतकमा मधेश विजयी, हारेपनि बागमती चौथो

२०८१ चैत  १४ गते १७:१२ २०८१ चैत १४ गते १७:१२
कप्तान अनिलको अर्धशतकमा मधेश विजयी, हारेपनि बागमती चौथो

१४ चैत, काठमाडौं । कप्तान अनिल साहले अविजित अर्धशतक बनाएपछि मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका साथ यात्रा टुंग्याएको छ ।

बिहीबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै मधेशले चौथो जित निकालेको हो । मधेशले २६० रनको लक्ष्य ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

मधेशको जितमा अनिलले ५३ बलमा ७ चौका र २ छक्कासहित अविजित ७० रन बनाए । रुपेश सिंह पनि २५ रनमा नटआउट रहे । त्यसअघि रोहन बिकले ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए ।

बागमतीका सुर्य तामाङले २ विकेट लिए । रिजन ढकाल, गौतम केसी, बिपिन आचार्य र इशान पाण्डेले १-१ विकेट लिए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले इशान पाण्डेको शतकमा पूरै ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो । इशान पाण्डेले १२७ बल खेल्दै १४ छक्का मदतमा ११४ रन बनाए । उनले यही क्रममा पीएम कपमा १००० रन पनि पूरा गरे । बागमतीका लागि १००० रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

रिजन ढकाल र विवेक मगरले समान ३० रन बनाए । बिपिन आचार्यले २७ रन बनाए भने शुभ कंसाकारले २० रन बनाए ।

मधेशका हरिशंकर साह, पवन सर्राफ र कप्तान अनिल साहले २-२ विकेट लिँदा रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिए ।

यस हारका बाबजुद बागमतीको मधेशसहित ३ टिमसँग समान ८ अंक भएपनि नेटरनरेटमा अगाडि रहेर चौथो स्थानमा रहन सफल भयो । तीन विभागीय टोलीपछि चार टिमले समान ४ खेल जितेका थिए । त्यसमा राम्रो रनरेट रहेकोले बागमती भाग्यमानी बनेको हो ।

उपाधिका लागि शनिबार पुलिस र आर्मी खेल्ने पक्का भइसकेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय