१४ चैत, काठमाडौं । अपराजित पौडेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपाली यू-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली यू-१९ सँगको अभ्यास शृंखलामा लगातार दोस्रो जित निकाल्दै एक खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ ।
आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप आयोजित शृंखलाको दोस्रो खेलमा नेपाल १०२ रनले विजयी भएको हो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमा अलआउट भयो ।
शान्तानु यादवले सर्वाधिक ३० रन बनाए भने मोहक कुमारले १९ तथा साथक पालले १६ रन बनाए ।
नेपालका अपराजित पौडेलले ७ ओभरमा ९ रन मात्र दिएर ५ विकेट लिए । नितेश पटेलले २ तथा बिपिन शर्मा, नरेन भट्ट र अशोक धामीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै १९२ रन बनाएको थियो । अभिषेक तिवारीले ६० रन बनाए भने नरेन भट्टले ५२ रन बनाए ।
दिल्लीका शुभम दुवेले ३ तथा आदित्य भण्डारी, अमन चौधरी, रौनक वागेलाले २-२ विकेट लिए । अब तेस्रो खेल १६ गते हुनेछ ।
प्रतिक्रिया 4