
१४ चैत, काठमाडौं । भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउने भएको छ ।
हाल बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध गराउने जानकारी भारतीय समकक्षीले ऊर्जा सचिव सुरेश आचार्यलाई दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो ।
भारतले १५ मार्चदेखि सन आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो ।
त्यस अवधिमा भारतीय खुला बजार (आईईएक्स) बाट १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी स्वीकृति प्राप्त भएको छ । त्यसबाहेक १३ घण्टा आईईएक्सबाट आयात हुने विद्युत् पूरै बन्द हुने गरेको छ ।
अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । यसबारे भारतीय पक्षले एसएमएस मार्फत जानकारी गराएको स्रोतले बतायो ।
यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा औद्योगिक क्षेत्रको लोडसेडिङ घटाउन मद्दत पुग्ने छ । रातको समय १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेकोमा अब त्यो अवधि घट्ने मन्त्रालयको भनाइ छ ।
त्यस्तै, रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ द रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।
यसैगरी नेपालको एकमात्रै जलाशययुक्त आयोजना कुलेखानीको पानी भण्डारण बचाउन पनि यसले मद्दत गर्ने छ ।
२३० मेगावाट विद्युत् दिन पनि भारत सकारात्मक
यसअघि गत ३ अक्टोबरमा भारतीय कम्पनी एनभीभीएनसँग भएको सहमति अनुसार २ सय ३० मेगावाट विद्युत् आयात गर्न दिन पनि भारतीय पक्ष सकारात्मक भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यसअघि विद्युत प्राधिकरणले फलोअप नगरेको भन्दै फेब्रुअरीदेखि नेपालमा आयात हुन सक्ने गरी भएको सम्झौता भए पनि बिजुली दिने अनुमति भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट प्राप्त भएको थिएन ।
तर, परराष्ट्रमन्त्री आरजु राणाले त्यो विद्युत् पनि उपलब्ध गराइदिन गरेको अनुरोध अनुसार सहजीकरण प्रयास भइरहेको बारे जानकारी आएको मन्त्रालय स्रोतले जनायो ।
३ अक्टोबरमा भएको सम्झौता अनुसार ७.०५ भारु दरमा एनभीभीएनले फेब्रुअरीदेखि मेसम्म २ सय ३० मेगावाट विद्युत् अनवरत उपलब्ध गराउनुपर्ने थियो ।
तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति नआएको भन्दै उसले अहिलेसम्म पनि बिजुली दिएको छैन । निकट भविष्यमा नै त्यो विद्युत् पनि आउने सम्भावना बढेको ऊर्जा स्रोत बताउँछ ।
अहिले भारतबाट आईईएक्स अतिरिक्त बिहार र उत्तर प्रदेशबाट १३२ केभीभन्दा साना प्रसारण लाइन मार्फत पनि २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । महाकाली सन्धि अन्तर्गत १६ मेगावाट विद्युत् पनि आयात भइरहेको छ ।
प्रतिक्रिया 4