+
+
Shares

‘छिमेकीको मसलाको रूखले मेरो खेतमा आधा अन्न घट्यो’

छिटो बढ्छ, टन्न पैसा हुन्छ । एउटै बोटबाट १/२ लाख हुन्छ भनेपछि धेरैले मसलाका रूख रोपे । तर अहिले उनीहरू पछुताइरहेका छन् । कतिपय किसानले त यी रूख काटेर फेरि धान, गहुँ खेती लगाउन थालेका छन् ।

गंगा थापा कृषक, ईश्वरपुर–४ सर्लाही गंगा थापा कृषक, ईश्वरपुर–४ सर्लाही
२०८१ चैत १५ गते १०:०४

मसलाको रूखले कति क्षति हुन्छ भन्ने भुक्तभोगी हुँ म । धेरै जनाले यो रूखबाट आम्दानी हुन्छ भन्दै धान, गहुँ लगाउने खेतमा मसलाका बिरुवा रोपे । मेरो खेतको सँधियार सूर्य भण्डारीले पनि मसलाका रूखहरू लगाउनुभयो । तर, त्यसको क्षति मैले व्यहोर्नुपर्‍यो ।

मेरो ७ कट्ठा खेत छ । तर, त्यही खेतको नजिकमा लगाइएका मसलाका रूखहरूका कारणले मेरो खेतमा आधा अन्न उत्पादन घट्यो । मैले कति पटक मसलाका रूखहरूले मेरो खेत सुख्खा गरायो भनेर वनका मान्छे भएको समितिमा कुरा पनि राखें । तर, मेरो कुरा कसैले सुनेनन् । उल्टो होइन भने ।

तर, मसलाको रूखले खेतलाई उजाड र बञ्जर बनाउँदो रहेछ । कुलोबाट खेतमा सिंचाइ गर्दा मसलाको रूख नभएको ठाउँमा चिस्यान १० दिनसम्म रहन्छ तर, मसलाको रूख भएको ठाउँमा त्यो चिस्यान ५ दिनमै हराउँछ ।

मसलाको रूख नजिक मकै र धान उत्पादन आधा कम भयो । यस्तो समस्या मेरो मात्रै होइन । जसको खेत नजिक मसलाका रूखहरू लगाइएका छन्, उनीहरू सबैको समस्या हो, यो । मैले जस्तो समस्या धेरै किसानले भोगेका छन् ।

मैले छिमेकी सूर्य भण्डारीसँग धेरै पटक मसलाका रूखले अन्न बालीमा क्षति गरेको गुनासो गरें । तर, उहाँले सुन्नुभएन । मैले यो मामलामा पालिकामा उजुरी दिने बताएपछि उहाँले आफ्ना रूख कटान गर्नुभयो ।
उहाँले अहिले रूख त कटान गर्नुभयो तर, उहाँले लगाएका रूखका कारण ६/६ वर्ष सम्म मैले आधा अन्न उत्पादन गुमाउनु पर्‍यो । अब यसको क्षतिपूर्ति कसले दिन्छ ? म जस्तो थोरै खेत हुनेले छिमेकीको मसलाका रूखले गर्दा धेरै क्षति व्यहोर्नुपरेको छ ।

यो मसलाका रूखले अन्नबाली मात्रै होइन, वातावरणलाई पनि क्षति गराउँदो रहेछ । यो रूखमा चराचुरुङ्गी पनि बस्दैनन् । रूखका पात झरेको ठाउँमा पनि केही फल्दैन । खेती भएको जग्गामा त लगाउनु नै हुँदैन ।

अर्को कुरा यदि कुनै कारणले आगलागी भयो भने यो रूख भएको ठाउँमा यति छिटो आगो फैलिन्छ; त्यसलाई रोक्न सकिन्न । कहिलेकाहीं नजिकमा सागरनाथ वन परियोजनाको मसलाको जंगलमा आगलागी हुन्छ । त्यहाँ आगो भयंकर र डरलाग्दो हुन्छ । आगलागीका हिसाबले पनि यो रूख हानिकारक छ । गाउँबस्ती र खेतबारी नजिक त यसले झन् ठूलो क्षति गर्छ ।

मसलाका रूख लगाउँदा त्यसले कस्तो क्षति गर्छ ? कस्तो ठाउँमा लगाउने ? यस बारेमा किसानलाई वन कार्यालयले जानकारी दिनुपर्दथ्यो । तर, वन कार्यालयले पनि त्यस बारेमा कहिल्यै जानकारी दिएन । छिटो बढ्छ, टन्न पैसा हुन्छ, एउटै बोटबाट १/२ लाख हुन्छ भनेपछि धेरैले मसलाका रूख रोपेका छन् ।

अहिले सुन्दैछु, भने जस्तो पैसा नभएपछि विगतमा मसलाका रूख लगाउने पश्चात्तापमा छन् । कतिपय किसानले त मसलाका रूख काटेर फेरि धान, गहुँ खेती लगाउन शुरू गरेका छन् ।

(ईश्वरपुर नगरपालिका–४ सर्लाहीकी कृषक थापासँग पत्रकार मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?