
१५ चैत, काभ्रेपलाञ्चोक । धुलिखेलमा विश्व युवा महोत्सव २०२५ सुरु भएको छ । १८ चैतसम्म चल्ने महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गरे ।
जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न मुलुकका १ सय ५० भन्दा बढी विदेशी युवाहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौतमले परिवर्तनका संवाहक युवाहरूबीच रहेको सिर्जनशील ज्ञान, सिप, क्षमताको आदनप्रदान एवं सिकाइको मञ्चको रूपमा महोत्सव आयोजना गरिएको बताए ।
‘दैनिक हजारौं संख्यामा युवाहरूले देश छोड्दै गर्दा युवाहरूमा आशा जगाउने र विश्वभरिका युवाहरूलाई नेपालको प्राकृतिक सौन्दर्य तथा यहाँका विविध संस्कृति चिनाउने र उनीहरूबाट नयाँ कुराहरू सिक्ने सिकाउने कामको प्रयत्न गर्न महोत्सवको आयोजना भएको हो,’ गौतमले भने ।
महोत्सवमा खेलकुद, सांगीतिक समारोह, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीहरू लगायतका कार्यक्रम यसमा समेटिएको छ ।
त्यस्तै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जन, कानुन, मानवअधिकार, जलवायु परिवर्तन, सूचना प्रविधि र कृतिम बुद्धिमत्ता (एआई ) लगायतका jlषयमा विज्ञहरूले कार्यपत्र, बहस, अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
महोत्सवमा भारत, रुस, बंगलादेश, भुटान, श्रीलंका, बेलायत, बेल्जियम नेपाल लगायतका कलाकारहरूको प्रस्तुति रहने छन् ।
कार्यक्रममा धुलिखेल घोषणापत्र जारी गर्ने र त्यसले विश्वभरिका युवाहरूमा बौद्धिक विमर्श गर्नमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4