१५ चैत, काठमाडौं । नेपालका महिला र बालबालिकामा हुने कुपोषण कम गर्न अमेरिकी परोपकारी संस्थाले सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागी हुन फ्रान्सको पेरिसमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनसँग सहयोगका लागि आग्रह गरेका थिए।
मन्त्री पौडेलले फाउण्डेसनका प्रमुख तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा भेटवार्ता गरेका हुन् ।
नेपालमा अहिले गर्भवती महिलालाई आइरन चक्की दिइन्छ । त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको सट्टा कमी देखिएका १५ वटै तत्वको मिश्रण गरेर दिने सरकारको तयारी छ।
सरकारको यो योजनामा लागि सहकार्य गर्न मन्त्री पौडेलले आग्रह गरेका हुन् । मन्त्रीको आग्रहपछि अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री पौडेलले बताए ।
पौडेलका अनुसार संस्थाका प्रमुख मुरले आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएका छन् ।
‘आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले श्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौं’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौं।’
केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए । नेपालको मातृशिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको उनको भनाइ छ।
प्रतिक्रिया 4