
१५ चैत, काठमाडौं । प्रहरीले संसद् भवन अगाडिको सडक बन्द गरेर सुरक्षा कडा पारेको छ । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गरी संसद् भवन अगाडिको सडक बन्द गरेको हो ।
नयाँबानेश्वर चोकबाट तिनकुनेतर्फ जान रोकिएको छ भने तिनकुनेबाट सिभिल अस्पताल अगाडितर्फबाट संसद् भवनतिर आउने सडक बन्द गरिएको छ ।
प्रहरीले ब्यारिकेड राखेर सडक बन्द गराएको छ । हतियारसहितका सुरक्षाकर्मीहरू तैनाथ छन् । सो सडक खण्ड पूर्णरूपमा बन्द गरिएको छ ।
गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकहरूमा सवारी आवागमन अस्तव्यस्त भएको छ ।
तिनकुने क्षेत्रमा राजावादीहरुको सभा हुँदै छ । भक्तपुर, चाबहिल लगायतका क्षेत्रबाट र्यालीसहित राजाका समर्थकहरु पुग्ने क्रम जारी छ ।
राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजसंस्था पुनर्स्थापना, गणतन्त्र खारेजी लगायतका माग राख्दै नारा लगाएका छन् । कतिपयले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्का नारा पनि लगाएका छन् ।
केहीबेर अघि तिनकुनेबाट नयाँबानेश्वरतर्फ आउने सडकनेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । तर अहिले अवस्था सामान्य देखिएको छ ।
प्रतिक्रिया 4