
१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी र आयात हुने सबै उत्पादनमा अनिवार्य लेबल लगाउन निर्देशन जारी गरेको छ ।
विभागले आज बिहीबार सूचना जारी गर्दै २० चैत २०८१ भित्र स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले बजारमा बिक्री वितरणमा पठाउनुअघि अनिवार्य रूपमा तयारी मालवस्तुमा लेबल लगाउन भनेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेकाले सोही ऐनको दफा २१ बमोजिम वस्तु वा सेवाको मापदण्ड निर्धारण गर्ने मार्गदर्शनको परिधिभित्र रहेर लेबल लगाउन विभागले भनेको हो ।
विभागले यो सूचना बेवास्ता गरी लेबलविनाका वस्तुहरू बजारमा बिक्री वितरण प्रयोजनका लागि राखिएको भेटिए प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
उत्पादनमा उत्पादक तथा पैठारीकर्ताले उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तु उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, गुणस्तर निर्धारण भएका वस्तु भए वस्तुको गुणस्तर, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग, दफा ६ को उपदफा २ बमोजिमका बाँकी अन्य कुरा वस्तुमा आकर्षित भए सो समेत उल्लेख गर्नुपर्ने विभागका निर्देशक तथा सूचना अधिकारी डिकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4