
१५ चैत, काठमाडौं । प्रहरीले तीनकुने प्रदर्शनमा जनकमान्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।
प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको अनलाइनखबरसँग पुष्टि गरेका छन् ।
गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
तीनकुनेको सभा बिथोलिएपछि शुक्रबार दिउँसो बीएबी ४२०८ नम्बरको गाडी आफैंले चलाएर प्रसाईं प्रदर्शन भीडबाट बाहिरिएका थिए । त्यसक्रममा उनी ‘आओ–आओ’ भन्दै गाडी चलाउँदै अघि बढेको भिडियोमा समेत देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।
उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाई समेत अश्लील गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।
निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ ।
सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो ।
प्रतिक्रिया 4