
१५ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीले उच्छृङ्खल गतिविधि बढाइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले शुक्रबार राजधानीमा वृहत् जनसभा गरे ।
तीनकुने क्षेत्रमा राजावादीले उच्छृङ्खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा प्रतिवाद गरे ।
राजधानीका विभिन्न ठाउँबाट र्यालीसहित भृकुटीमण्डपमा जम्मा भएको सभालाई सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरू राजसंस्थाप्रति आक्रामक रूपमा प्रस्तुत भए । सरकारको गतिविधिका कारणले समेत राजावादीले स्पेस पाएको भनेर सरकारलाई खबरदारी गरे ।
वृहत् जनसभाका प्रमुख पात्र थिए– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधान सभाबाट संविधान जारी गर्नका लागि १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध) को नेतृत्व गरेका प्रचण्डले राजावादीलाई ‘मण्डले’ को संज्ञा दिए ।
‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन्,’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ।
राजावादीहरूले परिस्थिति उत्तेजित पार्न चाहिरहेको प्रचण्डको बुझाइ छ । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो,’ प्रचण्डले भने ।
तर, आफूहरू शान्तिपूर्ण तरिकाबाट राजावादीको गतिविधि नियन्त्रण हुनुपर्छ भन्नेमा रहेको प्रचण्डले सुनाए । बरु सरकारले राजावादीको गतिविधि नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी र अन्य कार्य नगरेको प्रचण्डको आरोप छ ।
‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गरे ।
गणतन्त्रप्रति प्रधानमन्त्री ओलीको प्रतिबद्धता गणतन्त्र आउँदै गर्दा नरहेको प्रचण्डले स्मरण गरे । ‘बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको हो,’ प्रचण्डले सम्झिए ।
तथापि, गणतन्त्र प्राप्तिप्रति जनताको अवस्था परिवर्तन गर्नका लागि गर्नुपर्ने काममा कमी रहेको र यसले जनतामा निराशा जन्माएको प्रचण्डले स्वीकार गरे ।
गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको उनको आशंका छ । ‘हामी गणतन्त्रवादीले जनताका आशा/अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा–कर्कटमा पुर्याइएकाहरूले टाउको उठाएका हुन्,’ प्रचण्डको निचोड छ ।
‘हामी गम्भीर आत्मालोचना गर्दै गल्तीबाट शिक्षा लिएर जनताका सम्पूर्ण जनताको पक्षमा लाग्छौँ,’ प्रचण्डले आत्मालोचना गरे ।
तथापि, राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदै प्रचण्डले विगतमा गरेका गल्तीको फल अहिले पूर्वराजा ज्ञानेन्द्रले अहिले भोगिरहेको बताए । थप गल्ती नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिए ।
प्रचण्डले केपी ओली नेतृत्वको सरकार उल्टो बाटो हिँडेको आरोप लगाए । जनतामा निराशा रहेका बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु गलत रहेको उनले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वंशको शासन फर्काउने सपना नदेख्न राजावादलाई आग्रह गरे । अन्यथा, राजावादी भन्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।
नेपालका अनुसार सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार गर्न सक्दैनन् । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए ।
आफूहरूको सभालाई सभाको गम्भीर्यताअनुसार ख्याल गर्न राजावादीलाई उनको चेतावनी छ । ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार,’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहँदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’
पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेपालले सरकारलाई पनि खबरदारी गरे । ‘देशमा सबैतिर निराशा छ, मिटरव्याज पीडितको समस्या छ, सहकारी, सकुमवासीको समस्या छ, दलितहरूको त्यस्तै बिजोग छ । तर यसको अर्थ पूर्वराजा विकल्प हुन सक्दैनन्,’ उनले भने ।
सरकार जनताबाट टाढिएको र जनताको भावनालाई नबुझेकोले समेत राजावादीले स्पेस पाएको उनको भनाइ छ ।
सभामा अन्य वक्ताहरू पनि पूर्वराजाप्रति आक्रामक रुपमा प्रस्तुत भए भने जनताको अपेक्षा पूरा गर्नेतिर ख्याल गर्न सरकारलाई खबरदारी गरे ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागर्जुन सरेको ख्याल राख्न पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरिन् ।
‘..२४० वर्षको बिरासत २०५८ को हत्याकान्डले नै अन्त्य भएको थियो । तर त्यसको केही समयपछि नेपालबाट विधिवत रूपमा राजावादी बिदा भएको हो,’ उनले भनिन् । १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।
२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सल्बलाउन थालेका छन् ।
राजतन्त्रको बिदा गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रले मागेअनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न भुसालको आग्रह छ ।
राजनीतिमा आउन मन भए पार्टी खोल्न वा कुनै पार्टीको नेतृत्व गरेर चुनाव लडेर बहुमत ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बन्न उनको सुझाव छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजावादीलाई नउचालिन आग्रह गरे । राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सह्य नहुने उनको चेतावनी छ ।
‘विदेशीको षडयन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन्,’ उनले भने, ‘इतिहास फर्किँदैन । षडयन्त्र हुन्छन्, त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन ।’
नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले बताए । ४ सय वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौं । यसमा भएका गल्ती सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’
भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा चलिरहँदा तीनकुने क्षेत्रमा भने राजावादीको हिंसात्मक गतिविधि भइरहेको थियो । सभा सकिएपछि समाजवादी मोर्चाले विज्ञप्ति नै निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ ।
‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’ समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।
राजावादीहरूले ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको उनीहरूको निष्कर्ष छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी गर्न पुगेको भन्दै समाजवादी मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ ।
निजी, सार्वजनिक सम्पति र कान्तिपुर एवं अन्नपूर्ण पोस्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेको भन्दै समाजवादी मोर्चाले त्यस्ता गतिविधिको भर्त्सना गरेको छ ।
प्रतिक्रिया 4