
१५ चैत, काठमाडौं । राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले हिंसाको रुपमा हेरेको छ । यो कुनै राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको निष्कर्ष निकाल्दै सोहीअनुसार कारबाही गर्ने रणनीति सरकारले अपनाएको छ ।
तीनकुनेको प्रदर्शनमा व्यक्ति मर्नेदेखि तोडफोड र आगजनीको घटना भएपछि यसबारे जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मलेन गरेको थियो । साँझ ६ बजे सिंहदरबारस्थित मन्त्रालयमा भएको पत्रकार सम्मलेनमा गृहका सहसचिव छवि रिजालले समेत तीनकुनेको प्रदर्शनलाई हिंसाको रुपमा हेरिएको बताएका छन् ।
तीनकुनेमा तनाव सिर्जना भएपछि दिउँसै गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा सुरक्षा संयन्त्रका प्रमुखलाई बोलाएर छलफल गरेका थिए । उक्त छलफलले समेत तीनकुनेको प्रदर्शन आन्दोलन नभई हिंसात्मक भिड रहको निष्कर्ष निकालेको गृहका एक अधिकारीले बताए ।
गृहमन्त्रालयका सहसचिव रिजालले भने, ‘स्तवन्त्रताको मिसयुज भयो । सभ्य समाजले कल्पनासमेत गर्न नसक्ने हिंसा आजको तीनकुने प्रदर्शनमा भयो ।’

अहिलेसम्मको सरकारी तथ्यांकअनुसार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजका पत्रकार सुरेश रजक र अर्का प्रदर्शनकारी २९ वर्षीय सविन महर्जनको मृत्यु भयो । सरकारी तथ्यांकअनुसार अहिलेसम्म १५ जना प्रदर्शनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएको विवरण संकलन भएको गृह मन्त्रालयले जनाएको छ ।
आजको यो स्थिति आउनुमा राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं मुख्य रहेको गृहमन्त्रालयको बैठकले निष्कर्ष निकालेको छ । गृह प्रवक्तासमेत रहेका रिजालले पनि प्रसाईंकै कारण आन्दोलन भड्किएको बताए । ‘जब दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाए । त्यसपछि स्थिति भड्किएको हो’ रिजालले भने ।
रिजालले भनेजस्तै सार्वजनिक भिडिओमा समेत प्रसाईंले सुरक्षाकर्मीलाई गाडीले पेल्दै अघि बढेको देखिन्छ । आओ–आओ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ ।
केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाई समेत अश्लिल गाली गरेका थिए ।
प्रहरीले उनको गाडी रोक्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको र अहिलेको यो स्थिति आएको सरकारी संयन्त्रको बुझाइ छ ।
फौजदारी कारबाही हुन्छ
व्यक्तिको मृत्युदेखि सञ्चारगृहहरु तोडफोड, राजनीतिक दलका पार्टी कार्यालयहरु तोडफोड र आगजनी, व्यापारिक कम्प्लेक्सहरुमा दिनदहाडै लुटपाट, व्यक्तिका घरमा आगजनी, सवारी साधनहरु तोडफोड र आगजनी जस्ता हिंसात्मक गतिविधि दुर्गा प्रसाईं कमान्डर रहेको आजको राजावादीको प्रदर्शनमा भयो ।
यो प्रदर्शनलाई हिंसाको संज्ञा दिएको सरकारी संयन्त्रले आजको आगजनी र तोडफोडमा उत्रिनेहरुलाई फौजदारी कारबाही गर्ने तयारी गरेको छ । ज्यान मार्ने उद्योगदेखि आगलागीसम्मका कसुरमा कारबाही प्रक्रिया अघि बढाउने सरकारी निकायको तयारी छ । यो कुनै क्षमायोग्य घटना नभएकाले कानुनबमोजिम कारबाही हुने पनि गृहका सहसचिव रिजाल बताउँछन् ।
आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंले मान्छे उक्साउनेदेखि सुरक्षाकर्मीलाई पेल्दै गाडी चलाएको विषयमा अनलाइनखबरले सोधको प्रश्नमा गृह प्रवक्ता रिजालले भने, ‘सुरक्षाकर्मीलाई मार्ने नियतले प्रसाईंले गाडी चलाएको देखिन्छ । छानबिन गरेर कारबाही हुन्छ ।’
यसका साथै सुरक्षा संयन्त्रलाई समेत आवश्यक निर्देशन भइसकेको गृह स्रोतले बतायो । सुरक्षा संयन्त्रले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाइसकेको र कमान्डर भनिएका प्रसाईंलाई समेत पक्राउ गर्ने तयारी गरिएको छ । प्रसाईंलाई खोज्न सादा पोशाकको प्रहरी परिचालन भइसकेको छ । यद्यपि, अहिलेसम्म उनी फेला परेका छैनन् ।
कसलाई के कारबाही हुन्छ भन्नेमा अहिले यकिन नभएको रिजाल बताउँछन् । ‘अनुसन्धान हुन्छ । कसको भूमिका के देखिन्छ, त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने बताइएको छ ।
‘अनुमान गरेभन्दा अराजक भयो, घटनाको विश्लेषण गरेर अघि बढ्छौं’
आजको प्रदर्शनमा भएको घटना अनुमान गरेभन्दा फरक र अराजक भएको सुरक्षा संयन्त्रको बुझाइ छ । गणतन्त्रवादी र राजावादीको प्रदर्शन हुने भएपछि सोहीअनुसार सुरक्षा रणनीति बनाएर काम गरिएको प्रहरीको भनाइ छ ।
तर, स्थिति अनुमान गरेभन्दा फरक र अराजक भएको बुझाइ सुरक्षा संयन्त्रको छ । व्यक्तिको मृत्युदेखि आगजनीसम्मका घटना भएकाले यसको विश्लेषण गरेर आगामी रणनीति बनाइने गृहमन्त्रालयले बताएको छ । थप फौज परिचालनदेखि र सूचना संकलनसम्मको कामलाई थप तिव्रता दिने बताइएको छ ।
योसँगै काठमाडौं उपत्यका लगायत अन्य ठाउँका संवेदनशील क्षेत्रहरुमा समेत विशेष निगरानी गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ । भीभीआईपी, भीआईपी ठाउँ तथा उनीहरुका निवास, बैंक तथा व्यापारिक केन्द्र, राजनीतिक दलका पार्टी कार्यालयहरुमा समेत अहिले विशेष निगरानी बढाइएको छ । आजको काठमाडौंको प्रदर्शनमा मात्रै ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको दाबी गृहमन्त्रालयको छ ।
प्रतिक्रिया 4