१५ चैत, काठमाडौं । शुक्रबार दिउँसो साढे १२ बजे तीनकुने पुग्दा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको ब्यानर बोकेका प्रदर्शनकारीले नाराबाजी थालिसकेका थिए ।
अग्रपंक्तिमा रहेका युवाले प्रारम्भदेखि नै उग्र नारा लगाउन थालेपछि प्रहरीले संयमित गराउन सम्झाउने कोशिश गरिरह्यो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख दल प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य तारो बनाएका थिए, उत्तेजक र अभद्र शब्दसहित नारावाजी गरेका थिए ।
सुरुमा राजतन्त्र जिन्दवाद, हाम्रो राजा, हाम्रो देश, नालायक सरकार मुर्दावाद जस्ता नारा लगाएका उनीहरु पछि शीर्ष नेताहरुमाथि खनिएका थिए ।
राजा महेन्द्र र योगी नरहरिनाथको तस्वीर समेत बोकेका उनीहरुले शीर्ष नेताहरुको नाम लिएर ‘टुकुचामा गाड्नु पर्छ’ भन्ने अभिव्यक्ति समेत दिए । त्यही हुलमा रहेका एक जनाले पृथ्वीनारायण शाहको तस्वीर समेत बोकेका थिए ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले सोमबार राति संघीय सरकारसँगको विवादमा सामाजिक सञ्जाल फेसबुकमा आफ्ना कर्मचारीहरुले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु भन्दै लेखेका थिए । बालेनको त्यही अभिव्यक्तिलाई आन्दोलनमा उत्रिएका युवाले प्रयोग गरेका थिए ।
प्रहरी वृत्त, बानेश्वरको तीनकुनेस्थित कार्यालयबाट करिब ३ सय मिटरको दूरिमा प्रहरीले प्रदर्शनकारीलाई छेकेपछि अग्रपंक्तिमा रहेकाहरुले नारा थप चर्काएका थिए । प्रहरीले त्यहाँबाट प्रदर्शनकारीलाई अगाडि बढ्न नदिने नीति लिएको थियो । यसबारे प्रदर्शनको नेतृत्व गरेकाहरुलाई प्रशासनले पहिल्यै जानकारी गराएको थियो ।
त्यहीबीच बानेश्वरतर्फबाट विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास देखा परे । उनी तिनै धर्मगुरु हुन्, जसले हिन्दुराष्ट्रको मुद्दा चर्काउने भन्दै आफैंलाई गोली हान्न लगाएका थिए । आन्दोलनमा उनको प्रवेशसँगै प्रदर्शन उग्र बन्न सक्ने प्रहरीले आँकलन गरेको थियो ।
यद्यपि, मध्याह्न १२ः४५ तिर त्यहाँ पुगेका श्रीनिवासलाई प्रहरीले नै समन्वय गरेर मुख्य कार्यक्रमस्थलतिर पठाइदिएको थियो । तीनकुनेको चौरमा राजावादी समूहले प्रदर्शन राखेका थिए ।
त्यतिञ्जेल स्टेजमा आएका वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले पृथ्वीनारायण शाहले बनाएको देश नेपालमा राजसंस्थालाई पाखा लगाएर हुन्छ ? भन्दै प्रश्न गरे । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपाललाई ‘फ्रड’ भनेको भन्दै त्यसलाई गणतन्त्रको परिणाम भएको दाबी गरे ।
उनीपछि स्टेजमा उक्लिएर सुदर्शनचक्र नाममा सम्बोधन गरेका धर्मगुरुले उत्तेजक अभिव्यक्ति दिए । उनले हिन्दु सम्राटलाई राजगद्दीबाट निकालेको भन्दै कट्टर हिन्दु भएर निस्किनुपर्ने अभिव्यक्ति दिए । उनले त्यहीँबाट ‘युद्ध सुरु गर्नुपर्ने’ भन्दै भिडलाई उत्तेजित बनाए । उनले त्यहीँ भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने भन्दै निषेधित क्षेत्र तोडेर अघि बढ्नुपर्ने बताए ।
त्यही बीचमा आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईं एउटा हुल लिएर स्टेजमा आइपुगे । लगत्तै आन्दोलनको संयोजक भनिएका ८६ वर्षीय नवराज सुवेदीलाई राप्रपा नेता रवीन्द्र मिश्रसहितको समूहले समातेर स्टेज चढायो । स्टेजमा चढ्न समेत अफ्ठ्यारो भएका बेला उनलाई २÷३ जना सहयोगीले समातेर उचाल्दै स्टेज चढाएका थिए ।
त्यही बेला तीनकुने पुल जानेतर्फको बाटोमा प्रहरीले रोकिरहेको प्रदर्शनकारीको भिडले ठेलमठेल गर्न खोज्यो । त्यसक्रममा प्रहरीले माइकिङ गरेर संयम अपनाउन आग्रह गरिरह्यो ।
तर, भीडको अग्रपंक्तिमा रहेका युवाहरुले ठेलेर अघि बढ्नुपर्ने, बानेश्वरतिर जानुपर्ने भन्दै नारा लगाइरहे । त्यस्तोमा परिस्थिति प्रहरीको नियन्त्रणबाट बाहिर पुग्ने स्थिति देखिएको नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले अनलाइनखबरलाई बताएका छन् ।
‘आन्दोलनकारीहरुले नियतवश प्रहरीलाई नै उत्तेजित बनाउने काम गरे’, उनले भने, ‘प्रदर्शनकारीको नियत ठिक नदेखिएपछि अश्रुग्यास प्रहार गर्नुपर्ने स्थिति बन्यो ।’
त्यसक्रममा त्यहाँ खटिएका प्रहरी कर्मचारीले अश्रुग्यास हान्न सुरु गरेका थिए । अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरवितर भए । त्यतिबेला तिनकुनेको मैदानमा आन्दोलनका कमाण्डरहरु स्टेजमा बसिरहेका थिए ।
त्यही बेला कोटेश्वर र विमानस्थल दुवैतर्फबाट भिड आउन थालेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो । घटनास्थलमा खटिएका एक प्रहरीका अनुसार, आन्दोलनकारी उग्र बन्नसक्ने परिस्थिति देखिएपछि प्रहरीले पहिल्यै तितरवितर पार्न खोजेको थियो ।
त्यसक्रममा प्रदर्शनस्थलको आसपासबाट प्रहरीले अश्रुग्यास हान्न थाल्यो । कतिपय अश्रुग्यास प्रहरीले राजावादी समूहले कार्यक्रम गरिरहेको स्थानमा समेत हानेको थियो । त्यतिबेला आन्दोलनको संयोजक भनिएका ८६ वर्षीय सुवेदीलाई अरुले उद्दार गरेर सुरक्षित स्थानतर्फ लगेका थिए ।
आचार्य श्रीनिवास लगायतका धर्मगुरुहरु समेत त्यहाँबाट भागेका थिए । केहिवेरमै स्टेज रित्तिएपछि प्रदर्शनकारीहरुको भिडबाट विभिन्न व्यक्तिहरु आएर अराजक अभिव्यक्ति दिन थाले ।
उनीहरुले मैदानमा भेला भएर प्रहरीको सामना गर्न निर्देशन गरे । पछाडिपट्टी प्रदर्शनकारीले आसपासका घरमा ढुंगा हानिरहेका बेला रोक्न निर्देशन दिएनन् । बरु प्रहरीलाई पनि पेलेर जान स्टेजबाटै भने ।
स्टेजमा उक्लिएका विभिन्न व्यक्तिले कान्तिपुर र अन्नपूर्ण पोष्टको कार्यालयमा समेत आक्रमण गर्न भने । त्यसपछि नजिकै रहेको कान्तिपुर टिभीको कार्यालयमा प्रदर्शनकारी पुगेर तोडफोड गरेका थिए ।
अन्नपूर्ण पोष्ट रहेको गैरिगाउँ, तीनकुनेमा पहिल्यै प्रहरीको बाक्लो उपस्थिति थियो । यद्यपि, पछाडि पट्टीको बाटोबाट पुगेको भिडले भुइँ तलामा तोडफोड गर्यो ।
स्टेजबाटै अज्ञात व्यक्तिले भागेर गए हारेको भन्छन् भन्दै नेताहरुलाई बोलाए । केही बेरमा त्यहाँ दुर्गा प्रसाईं र राप्रपा नेता धवलशमशेर राणा देखा परे ।
सुरुमा प्रहरीसँग तनाव नगर्न भनेका प्रसाई आफैं स्कर्पियो गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोड्न अघि बढेका थिए ।
तीनकुनेमा मुख्य प्रदर्शन भएको स्थानबाट आफैं गाडी कुदाउँदै प्रहरीलाई ठेल्दै अघि बढेका थिए । प्रहरी अधिकारीले उनको गाडीको चाबी खोस्न खोज्दा समेत प्रसाईं प्रतिकार गर्दै अघि बढाएका थिए ।
प्रहरी प्रवक्ता डीआईजी आचार्य प्रसाईंले प्रहरीलाई नै किच्न खोजेको बताउँछन् । ‘प्रहरीले संयम अपनाउन भनेको थियो, तर उनी उत्तेजित हुँदै अघि बढे’, उनी भन्छन् । त्यस क्रममा तीनकुनेका तीनै कुनामा प्रहरी र राजावादीबीच ठेलमठेल भइरह्यो ।
कोटेश्वरतर्फ जाने बाटोमा पनि ट्राफिक सिग्नल नजिकै रहेको घरमा प्रहरीले माथिबाट अश्रु ग्याँस हानेको भन्दै प्रदर्शनकारीले ढुंगा हान्न थलो । त्यही बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने बाटोमा समेत प्रहरीले अश्रुग्याँस हानेपछि प्रदर्शनकारीले ढुंगा बर्साउन थाले ।
कार्यक्रमस्थलबाट ढुंगा संकलन गरेर ल्याउँदै प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । लगभग आधा घन्टापछि मार्बल हाउसको दोस्रो तलामा आगो लाग्न थाल्यो, त्यसअघि केही पड्किएको ठूलो आवाज समेत आएको थियो ।
आगो दन्किन थालेपछि प्रहरीले दमकल ल्याउने प्रयास गरेको थियो । केही बेरमा सशस्त्र प्रहरी बलको दमकल आएर आगो निभाउने कोशिश त गर्यो , तर उग्र प्रदर्शनकारीहरुले दमकलमाथि नै ढुंगा र इँटा प्रहार गर्न थाले । चालकलाई नै लक्षित गरेर ढुंगा हान्न थालेपछि दमकल त्यहाँबाट निस्किन बाध्य भयो ।
आगजनी भएको घरमा एउटा सहकारी संस्था पनि थियो, त्यहाँ भएका कागजातहरु प्रदर्शनकारीले माथि गएर फ्याँकिदिएका थिए । त्यही आगजनीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो ।
साँझ त्यहाँ एक जनाको शव भेटिएको थियो, आफ्ना सहकर्मी सम्पर्कविहीन भएपछि त्यहाँ पुगेका एभिन्यूजका पत्रकारहरुले शव रजकको भएको पुष्टि गरे ।
प्रदर्शनकारीले दमकलमाथि ढुंगामुढा नगरेको भए त्यहाँ रहेका मानिसहरुको उद्दार सम्भव हुने प्रहरी अधिकृतहरु बताउँछन् । त्यहाँको आगजनी झण्डै साढे ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।
त्योबीचमा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्दै कोटेश्वरतर्फ लखेटेको थियो । प्रदर्शनकारीहरुले कोटेश्वरको प्रहरी प्रभाग, पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट लगायतका संरचनालाई समेत निशाना बनाएका थिए ।
कोटेश्वर प्रहरी कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरिदिए भने पेरिसडाँडामा जान खोज्दा प्रहरीले रोक लगायो । यद्यपि, नजिकै रहेको लागूऔषध नियन्त्रण ब्यूरोको गाडी प्रदर्शनकारीले जलाए ।
त्यहाँबाट अगाडि बढेका प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा ढुंगामुढा गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीको भिडले लुटपाट समेत मच्चाएको थियो । त्यहाँ भेला भएको एउटा हुल लगत्तै जडिबुटीतर्फ अघि बढेको थियो । त्यहाँ जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा प्रदर्शनकारीको भिडले तोडफोड गर्यो, सरकारी गाडीमा आगजनी गर्यो ।
प्रदर्शनका बीचमा आन्दोलनमा सहभागी राप्रपा नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतले प्रदर्शनकारीलाई संयमित बनाउनु साटो उल्टै उक्साए । शान्तिपूर्ण आन्दोलनको आह्वान गर्न छाडेर उनीहरु उल्टै भन्न थाले, ‘कुनै पनि आन्दोलन नेताको नियन्त्रणमा हुँदैन ।’ मिश्रले सन्चाकर्मीलाई उल्टै प्रतिप्रश्न गरे, ‘२०४६, ०६२/६३ को प्रदर्शन हेर्नु भएको छ, कुनै नेताको नियन्त्रणमा थियो ? धनजनको क्षति भएको थिएन ?’
सांसद् समेत रहेका धवल शम्शेर राणाले अश्रुग्याँस प्रहार भइरहेका बेला समर्थकहरुलाई एकत्रित हुन र निषेधित क्षेत्र तोड्न भन्दै उक्साएका थिए ।
प्रतिक्रिया 4